जडीबुटी संकलन आरोपमा वनका अध्यक्ष र सचिव पक्राउ

बाजुरा, ६ मंसिर । बाजुरा जिल्ला स्थित हिमाली गाउँपालिकाको एक सामुदायिक वनका अध्यक्ष र सचिव गैरकानुनी रूपले जडीबुटी संकलन गरेको आरोपमा प्रक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हिमाली गाउँपालिका १ वामु देवीडाँडा सामुदायिक वनका अध्यक्ष राजबहादुर भण्डारी र सचिव वीरलाल रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अबैधरुपले जडीबुटी संकलन भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी चौकी विच्छायाबाट खटिएको प्रहरी टोलीले करिब एक क्विन्टल कटुकीसहित उनीहरुलाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेका दुवैजनालाई जिल्ला सदरमुकाम ल्याएको छ । उनीहरूलाई वन ऐनअनुसार कारबाही गरिने बताइएको छ ।