समयमै काम सम्पन्न गर्न गाउँपालिकासंग योजनाको सम्झौता गरिदै
कैलाली, २ मंसिर । कैलालीको कैलारी गाउँपालिकामा चालु आर्थिक वर्षको योजना धमाधम सम्झौता हुन थालेको छ । वडाहरुमा गठन भएका उपभोक्ता समितिले गाउँपालिकामा धमाधम योजनाको सम्झौता गर्न थालेका हुन । सो गाउँपालिकाको कतिपय वडाहरुमा दशैं अगावै उपभोक्ता समिति गठन गरिएको थियो । कतिपय वडामा भने तिहारपछि समिति गठन भए ।
नौ वटै वडामा उपभोक्ता समिति गठन भइ योजनाको सम्झौता धमाधम भइरहेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार विभिन्न छ वटा वडाका उपभोक्ता समितिहरुलाई योजना कार्यान्वयनबारे तालिम दिएर योजनाको सम्झौता थालिएको हो ।
‘वडा नम्बर ६, ८ र ९ वडाका उपभोक्ता समितिहरुलाई भने तालिम दिन बाँकी रहेको छ’, प्रवक्ता चौधरीले भने । सम्झौता गरिसकेका कतिपय उपभोक्ता समितिले योजनाको काम पनि थालिसकेको उनले जनाएका छन् ।
‘बाँकी रहेका तीन वटै वडाका उपभोक्ता समितिहरुलाई पनि चाँडै तालिम प्रदान गरिन्छ’, उनले भने–‘उपभोक्ता समितिले गर्ने जति पनि योजनाहरु छन्, त्यसलाई प्रभावकारी कार्यान्वयन गर्ने र समयमा सक्नु पर्ने हामीले जोड दिएका छौं ।’













