नेपाल पत्रकार महासंघको पदाधिकारीमा थारु कोटा सुनिश्चत गर्न माग

काठमाडौं, १ मंसिंर । थारु पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको वैठकले नेपाल पत्रकार महासंघको पदाधिकारीमा थारु कोटा सुनिश्चत गर्न माग गरेको छ । काठमाडौंमा सम्पन्न बैठकले पाँचबुदे घोषणा पत्र जारी गर्दै सो माग गरेको हो ।

संघले नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको विधानमा संविधानले थारु समुदायलाई छुट्टै क्लष्टरको व्यवस्था गरेकाले महासंघको विधानमा महासंघको पदाधिकारीमा थारु पत्रकारलाई समेट्नु पर्ने, संघीय सरकारले हरेक वर्ष पत्रकार सम्बद्ध संघ संस्थालाई आर्थिक अनुदान वितरण गर्दै आएता पनि थारु पत्रकार संघलाई अहिलेसम्म अनुदान प्राप्त नभएकाले आगामी वर्षदेखि संघलाई पनि अरु सरह आर्थिक अनुदान दिने व्यवस्था गरिनुपर्ने, नेपाल संवैधानिकरुपले संघियताको कार्यान्वयनमा गइसकेको र राज्यको सबै संयन्त्रमा समानुपातिक व्यवस्थाअनुरुप जाने प्रतिवद्धताअनुरुप पत्रकार सम्बद्ध निकायमा थारु पत्रकारलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागिता गराउनुपर्ने घोषणा पत्रमा उल्लेख छ ।

त्यसैगरि संघले सरकारी तथा निजी ठूला सञ्चारगृहमा थारु पत्रकारको सहभागिता प्राय शुन्य रहेकाले समानुपातिक सिद्धान्तका आधारमा सहभागिताको व्यवस्था गर्दै थारुको विषयवस्तु प्रकाशनलाई महत्व दिंदै थारु पत्रकारको सशक्तिकरणमा ध्यान दिइनुपर्ने घोषणा पत्रमा लेखिएको छ । साथै थारु पत्रकार संघ नेपालको महाधिवेशन प्रतिनिधि तथा जनता टेलिभिजनका व्यूरो इन्चार्ज भिम चौधरी केहीदिन अघि मोटरसाईकल दुर्घटनामा परी घाइते भएको हुँदा उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

थारु पत्रकार संघ रुपन्देहीका जिल्ला अध्यक्ष राज चौधरीलाई केही दिनअघि एक अज्ञात समूहले हातपात तथा दूव्र्यवहारको घटनाप्रति कडा आपत्ति जनाउँदै दोषीलाई कारवाही गर्न जोडदार माग गरेको छ ।