टीकापुर राजबन्दी परिवारलाई मुठी दान अभियान जारी

धनगढी, १ मंसिर । टीकापुर घटनाको अभियोगमा जेल जीवन बिताइरहेका राजबन्दी परिवारलाई सहयोकोलागि मुठी दान अभियान चलिरहेको छ ।

अभियान अन्र्तगत शनिबार गौरीगंगा नगरपालिका वडा नं. १० नुकलीपुरमा ३१६ केजी धान संकलन भएको थियो । थरुहट÷थारुवान राष्ट्रिय मोर्चा जिल्ला समिति कैलालीले कार्तिक १९ गते देखि अभियान थालेको थियो । धनगढी उपमहानगरपालिका–१९ फूलवारी घर भएका मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुको घरबाट अभियानको थालनी गरिएको थियो ।

संयोजक थारुका दाजु नयन चौधरीले १ क्वीन्टल धानबाफत हुन आउने २ हजार रुपैया गाउँका भलमन्सा (गाउँ प्रमुख) लबरु चौधरीलाई हस्तान्तरण गरेका थिए । पहिचानको अधिकारको लडाईको क्रममा अझै ११ जना जेल जीवन भोगिरहेको बताउँदै संयोजक थारुले हालसम्म कानूनी लडाईको क्रममा अदालतमा मात्रै ४० लाख बढी खर्च भैसकेको जानकारी दिए ।

अभियान देशभर सञ्चालन गर्ने बताउँदै उनले संकलित रकम राजबन्दी परिवारको जिविकोपार्जन तथा बालबालिकाहरुको शिक्षादीक्षामा खर्च गरिने बताए ।

यसैबीच मोर्चाका कैलाली संयोजक माधव थारुले गाउँ–गाउँमा भलमन्साहरुको अगुवाइमा अभियान जारी रहेको जानकारी दिए । संकलित जिन्सी तथा नगद रकम पारदर्शी ढंगले खर्च गर्ने बताउँदै उनले संकलित रकम मोर्चाको केन्द्रीय खातामा जम्मा गर्ने बताए ।