हरियाली वन बनाउने अभियानमा तालिगडा गाउँ
कैलाली, २९ कात्तिक । डडेल्धुराको परशुराम नगरपालिका–६ को तालिगडा गाउँ हरियाली वन बनाउने अभियानमा जुटेको छ । यो गाउँ चुरेसँगै जोडिएको बस्ती हो।
चुरेसँगै जोडिए पनि यहाँ पानीको समस्या भने ठूलो छ । अहिले तालिगडाबासीले पानीको समस्या समाधानकोलागि उपाय खोजिरहेका छनु ।
उनीहरूले चुरे संरक्षणकासंगै पानीको मुहान पनि संरक्षण गर्ने अभियानमा जुटेका छन् । मुहानबाट आउने पानी जोगाएर खानेपानीको जोहो गर्न अभियान थालेका स्थानीय बताउँछन् । पानीका मुहान संरक्षण अभियानका अगुवा देवबहादुर साउँद भन्छन् अहिले पानीका मुहान संरक्षित भएका छन् । मुहानको पानी पाइपमार्फत गाउँसम्म पुर्याइएको छ। पानी भण्डारणका लागि गाउँको माथिल्लो भागमा ट्यांकी बनाइएको छ । त्यही ट्यांकीबाट स्थानीयका घरसम्म पानी पुग्छ।
‘धेरै भएको पानीबाट हामी सिँचाई गर्ने छौँ । खानेपानी पनि प्रशस्त मात्रामा हामीले पाएका छौं,’ संरक्षण अगुवा साउँदले भने । तालिगडा बासीले मुहान संरक्षण गरी खानेपानी व्यवस्थापन उनीहरूको दैनिक जीवन सहज बन्दै गएको छ ।
तालिगडाबासी पानी व्यवस्थापन बारे जानकार छन् । यहाँ पहिले सिँचाइको सुविधा थिएन । तर, अहिले मुहान संरक्षणपछि भने स्थानीयले खानेपानीसँगै सिँचाइ सुविधासमेत लिन भ्याएका छन् । ट्यांकीमा धेरै भएको पानी भण्डारण गर्न छुट्टै सिँचाइ पोखरी बनाइएको छ । सिँचाई पोखरीमा जम्मा हुने पानी धारासम्म पु¥याइन्छ । सिँचाइ गर्न सहज होस् भनेर पाँच वटा सिँचाइ धारा बनाइएका छन् । यही पानीले स्थानीयका खेतबारी सिञ्चित हुन्छन् ।
मुहान र खानेपानीको सहज आपूर्तिका लागि एक जना हेरालुको व्यवस्था गरिएको छ । ट्यांकीको पानी निश्चित समयमा मात्र खुला गरिन्छ । पानी उपभोग गर्ने सबै उपभोक्ताबाट मासिक २५ रुपैयाँ शुल्क उठाइन्छ । यसरी उठेको रकमबाट हेरालु र खानेपानीको मर्मत सम्भार गरिन्छ । ‘मेरो काम भनेको साँझ बिहान पानी खोल्ने, कतै धेरै बिग्रियो भने गाउँलेलाई बोलाउने । अलिकति मात्र बिग्रिएको रहेछ भने आफैँ बनाउने ,’हेरालु वीरबहादुर साउँद भन्छन् ।

मुहान संरक्षण मात्रै होइन उनीहरूले वनमारा झारले भरिएको जङ्गल फडानी गरेर अचेल हराभरा बनाएका छन् । सिरानको सिद्धनाथ सामुदायिक वनमा अम्रिसो र नेपियर घाँस हुर्काएका छन् । स्थानीयले यसबाट लाभ पनि लिन पाएका छन् । ‘अहिले त राम्रै भएको छ । गोडमेल ग¥यौँ । झाडी सफा ग¥यौँ । पर्खाल हाल्यौँ । अहिले कस्तो राम्रो भएको छ, स्थानीय गङ्गा साउँदले भनिन् ।
संरक्षण अगुवा साउँदका अनुसार परशुराम नगरपालिका– ६ का गाउँका महिला, पुरुष सबैको सहयोगमा वनलाई हरियाली बनाइएको हो । सामुदायिक वन क्षेत्रमा हुर्किएका बिरुवाले भू स्खलन हुनबाट रोकेको छ । संरक्षणसँगै घाँसको आवश्यकता पुरा भएको छ । यसले पशुपालनमा सघाएको छ । चुरेमाथिको निर्भरता पनि घटेको छ । आर्थिक उपार्जनका लागि आधार तयार भएको छ ।
माटो रोकिने, घाँस उपलब्ध हुने, अम्रिसोको कुचो बनाएर बिक्री वितरण गर्ने, बोट बिरुवा बिक्री वितरण गर्ने जस्ता कार्य गर्न सहज भएको अगुवा साउँदले बताए । संरक्षणमा पाएको सफलताले स्थानीयमा खुसीयाली छाएको छ । वनमा आँप, बाँस, डाले घाँस लगाएर संरक्षणमैत्री कार्यले मानवीय सुखसँगै समृद्धि पनि हासिल गर्न सकिन्छ ।













