सुदूरपश्चिममा भव्य जात्रा ‘देहिजाँत’

डडेल्धुरा, २६ कार्तिक । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा आज भव्य मेला लागेको छ । स्थानीय भाषामा ‘देहिजाँत’ को रुपमा मानिने सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा भव्यताका साथ मेला लाग्ने गर्दछ ।

हरेक वर्ष कात्तिक शुक्लपूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्दछ । राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ ।

सोमबार बेलुकादेखि शुरु भएको मेला मङगलबार बेलुकी सम्म लाग्नेछ । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आइ दिउसेडी मेला शुरु भएको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।

देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आउने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए ।

डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन ।