सुदूरपश्चिमाञ्चल साहित्य समाजले विश्व नेपाली साहित्य महोत्सव गर्ने
कैलाली, २६ कात्तिक । सुदूरपश्चिमाञ्चल साहित्य समाज कैलालीले धनगढीमा विश्व नेपाली साहित्य महोत्सवको तयारी गरिरहेको छ । आउँदो फागुन ६ देखि १२ गतेसम्म विश्व नेपाली साहित्य महोत्सव हुने भएको हो ।
सोमवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष रामलाल जोशीले नेपाली भाषा, साहित्य र संस्कृतिको उद्गम स्थल काली–कर्णाली क्षेत्रको गौरवलाई विश्वभर चिनाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागेको जानकारी गराए । उनले स्थानीय स्तरका पनि विभिन्न साहित्यिक तथा सांस्कृतिक समूहको सहभागिता, साहित्य, संस्कृति, भाषा लगायतको विषयमा समूहगत छलफल, कार्यपत्र प्रस्तुत लगायतको कार्यक्रम हुने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन हुने कार्यक्रममा नेपालका साहित्यकार, भारत सिक्किमका मुख्यमन्त्री तथा साहित्यकार पवन चामलिङसहित, भुटान, बर्मालगायत देशका साहित्यकार, लेखकहरु गरि ५ सय बढीको सहभागिता हुने अध्यक्ष जोशीले जानकारी दिए ।













