आज देखि छठ पर्व शुरु, पर्व मनाउनेको संख्या बढ्दै

कैलाली, १६ कात्तिक । पूर्व मेचिदेखि पश्चिम महाकाली सम्मको तराई क्षेत्रमा छट पर्व धुमधामका साथ मनाउदै आईरहेका छन् । सूर्यको अराधना गरेर मनाउने यो पर्व देशका विभिन्न क्षेत्रमा मनाइन्छ ।

कैलालीमा पनि छठ पूजाका लागि भव्य तयारी भएको छ । छठ पूजा सेवा समिति धनगढीले मोहना नदीस्थित मोहना घाटमा छठ पूजाको लागि भव्य तयारी गरेको छ । आर्य घाटको रुपमा प्रयोग हुँदै आएको मोहना घाट र आसपासको क्षेत्रलाई यति बेला रंगिचंगी बनाईएको छ ।

पानी पनि नखाएर बस्ने यो व्रतमा पूजाको लागि झन्डै साढे छ लाख रुपैयाँ खर्च गरेर नदी किनारलाई सजाइएको छ । पर्वलाई रमाईलो बनाउनको लागि मोहना घाटलाई सिंगारिएको समितिका अध्यक्ष सन्तोष मण्डल धानुकले बताए । ‘हामीले पूजाका लागि भव्य तयारी गरिरहेका छौं’, शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने–‘यो वर्ष दुई सय स्टल निर्माण गरेका छौं ।’

धनगढीको मोहना घाटमा विगत ११ वर्षदेखि छठ पूजा गरिदैं आएको समितिले जानकारी दिएको छ । सुरुको वर्ष जम्मा छ वटा स्टल निर्माण गरेर छठ पूजा गरिएको थियो । तर, छठ पर्व मनाउनका लागि मधेसी वा मैथिली भाषा बोल्ने समुदायबाहेक हिन्दू धर्मावलम्बी अरु समुदायको पनि सहभागिता बढ्दै गएपछि यो वर्ष दुई सय पूजा स्टल निर्माण गरिएको जनाइएको छ ।

धनगढीमा मधेसी समुदायको जनसंख्या करिब २५ हजारको हाराहारीमा रहेको समितिले जानकारी दिएको छ । तर, मोहना घाटमा गरिने छठ पूजामा सहभागिता हुनेको संख्या ५० हजारसम्म रहने गरेको समितिले जनाएको छ ।