कला क्षेत्र छोडेर फूल खेतीमा हाम फालेका सितलको कथा

कैलाली, ९ कात्तिक । कैलालीको टीकापुर नगरपालिका–१ वनगाउँका सीताराम चौधरी ‘सितल’ (५०) ले २ वर्ष अगाडीसम्म १० कट्ठा जमिनमा ८/९ क्वीन्टल धान फलाउँथे ।

बिक्री गर्दा बडो मुस्किलले २० हजार रुपैयाँ पाउँथे । परिश्रम, लगानीको लेखाजोखा गर्दा बर्सेनि बराबरी हुन्थे । अझ कुनै वर्ष त नोक्सानी समेत बेहोर्नुपर्थ्यो । त्यसपछि उनले सोचे अब धानभन्दा फूलतिर लाग्छु ।

२ वर्षयता उनको सो धान फल्ने जमिन सयपत्री फूलले ढपक्क ढाक्न थालेको छ । जमिनले नयाँ जीवन पाएको जस्तो देखिन्छ । धान फल्ने खेतमा सयपत्री फुल्दा सुन्दरता पनि थपिएको छ ।

फूलखेतीमा लागेपछि सितलको मुहारपनि उज्यालिएको छ । जोड–घटाउ गर्दा देखिने आम्दानीले जीवनभरि यताउती भौतारिएर निराश बनेका सितलको मुहार सयपत्री झै ढपक्क खुलेको छ ।

उनले विगत स्मरण गरे, ुजीवनको उर्जावान समय धेरै क्षेत्रमा खर्च गरियो । कला क्षेत्रमा हात हालिएन कि, क्यामेरा बोकेर हिँडिएन । तर कतै फापे जस्तो लागेन । अन्तिममा जे परे पर्ला । डुबे, डुबुँला भनेर फूल व्यवसाय रोजे । यसबाट मलाई सन्तुष्टि मिलेको छ ।’

महेन्द्र बहुमुखी क्याम्पस दाङबाट स्नातकसम्म अध्ययन गरेका सितलले एकताका भारतको मुम्बईमा फोटोग्राफीको तालिम लिए । फोटो स्टुडियो खोली उनले ०४९ देखि ०५१ सम्म फोटोग्राफीमा क्रियाशील रहे । तर फापेन । फोटो व्यवसायी मात्रै होइन, २०५७ मा फिल्म क्षेत्रमा हात हाले । पश्चिमा थारु भाषाको पहिलो फिल्म ‘कुहिरा’को निर्माता भइ काम गरे । त्यसमा पनि सफलता हात पार्न नसकेको उनी बताउँछन् । जीविकोपार्जनको लागि खेतीपातीसँगै अनेकौं ठाउँमा भौतारिए । अनेकौ पेशा अंगाले । तर सफलता हात नपरेपछि अन्ततः उनी फूल खेतीमा हाम फाले ।

‘अरू क्षेत्रमा भन्दा सम्भावना बढी देखे । मान्छेको जन्मदेखि मृत्युसम्म चाहिने फूल नै रहेछ । तर यहाँ फूलको व्यावसायिक उत्पादन देखिन । बाहिरबाटै आयात भएको पाएँ’, उनले अगाडी थपे, ‘सोधखोजकै क्रममा चितवनमा गरिएको व्यावसायिक फूल खेतीको अनुगमन गरे । उहाँहरू त यहाँ मात्रै होइन यहाँबाट विदेशसम्म फूलको निर्यात गर्नु हुँदोरहेछ । उहाँहरूले गर्न सक्नुहुन्छ भने मैले किन गर्न नसक्ने भन्ने आँट आयो । चितवनमै फूल खेती सम्बन्धी २ हप्ते तालिम लिएँ । प्राविधिक ज्ञानसमेत हासिल गरेपछि शुरूवात गरिहालेँ ।’

उनले २०७५ साउनदेखि १० कठ्ठा जमिनमा फूल खेतीको शुरूआत गरेका हुन् । इन्द्रेणी फ्लोरी कल्चर एण्ड डेकोरेटरर्स् फर्म स्थापना गरी उनी पहिलो सिजनमै राम्रो प्रतिफल पाएपछि निकै उत्साहित भए ।

शुरूआती वर्षमा १ लाख ३५ हजार लगानी गरेका उनले एकै सिजनमा ३ लाख र वर्षमा करीब ६ लाख आम्दानी गरे । विगतमा गरिएको धान खेतीबाट हुने प्रतिफल र फूलबाट आएको प्रतिफलले उनमा खुशीका सीमा नाघ्यो । प्रतिफलको अन्तर निकै बढ्यो ।

फूल रोपेको खेत देखाउँदै उनी भन्छन्, ‘यहि डिहुवा ९उचो खेत० हो, यसमा वर्षौंदेखि धान लगाउँथे । बडो मुस्किलले २० हजारको धान बेच्थेँ । अहिले यसैमा फूल खेती गरे । धानबाट हुने आम्दानी र फूलबाट हुने आम्दानी हेर्दा जमिन अकाशको फरक छ ।’

उनको अनुसार फूल खेती वर्षमा २ पटक गर्न सकिन्छ । असार, साउनदेखि मंसिरसम्म र फागुनदेखि असारसम्म गरी २ सिजनमा खेती गर्न सकिन्छ ।

शुरूआती वर्षमा चितवनबाट ११ हजार बर्ना ल्याएर खेती गरेका सितलले चालु वर्षमा भने भारतको कलकट्टाबाट बीउ आयात गरी आफैं नर्सरी तयार गरी खेती गरेका छन् । जसबाट विगतको भन्दा चालु वर्ष अझ राम्रो प्रतिफल पाउने उनले आशा गरेका छन् ।

चालु वर्षमा दोब्बर क्षेत्रफल ९एक बिघा०मा खेती गरेको जनाउँदै उनले भने, ‘फूल राम्रो फूलेको छ । दशैं अगाडिदेखि बिक्री वितरण शुरू गरेको छु । एक सिजनमा ७ लाखको करोबार गर्ने लक्ष्य बनाएको छु ।’

फूलको बजार माग पनि उच्च रहेको छ । जन्म संस्कार, विवाह, पार्टी, चाडपर्व, पूजापाठ, मेला, महोत्सव, मृत्यु संस्कारको कार्यमा समेत उनले उत्पादन गरेको फूलले स्थान पाएको छ ।

उत्साह व्यक्त गर्दै सितलले भने, ‘बजार असाध्यै राम्रो छ । हेर्नु न, कार्तिक १ गते धनगढीमा प्रचण्ड आउने कार्यक्रम थियो । त्यो कार्यक्रमको लागि यहाँबाट फूलको माला पठाएँ ।’

उनले उत्पादित फूल र माला कैलालीको टीकापुर, लम्की, अत्तरिया, धनगढीका साथै बर्दियाको राजापुर, बाँकेको कोहलपुर, नेपालगञ्जसम्म पुर्‍याउँदै आएका छन् । चाडपर्वको सीजन आगमन भएसँगै त झनै उनको व्यस्तता बढेको छ ।

सजावटमा सिपालु सितल

उनी फूलको उत्पादन गरी बिक्री गर्ने मात्रै होइन, त्यहि फूलको माला उन्ने र विभिन्न कार्यक्रमका मञ्च सजाउने, विवाह तथा पार्टीका गाडीहरू सजाउने कार्य गर्दै आएका छन् । जसबाट पनि राम्रो कमाइ गर्दै आएका छन् । मञ्चको आकार अनुसार १५ हजार रुपैयाँदेखि ७५ हजारसम पारिश्रमिक लिँदै आएको उनी सुनाउँछन् ।

रोजगारी सिर्जना

छोटो समयमा नै फूल खेतीमा रमाइरहेका सितलले आफू र परिवारका सदस्यलाई स्वरोजगार मात्रै बनाएका छैनन् । अन्यलाई समेत रोजगारी दिन सफल भएका छन् । ६ जनाको परिवार रहेको उनको उनीसहित ४ जना सदस्य फूल खेतीमै संलग्न छन् । भने १५ जनालाई रोजगारी प्रदान गरेका छन् ।

‘फूलबारीको गोडमेलदेखि फूल टिप्ने, माला उन्ने कामको लागि कामदार राखेको छु । माला उन्नेलाई प्रति मालाको ५ रुपैयाँ पारिश्रमिक दिँदै आएको छु । सबै लागत जोडेर मैले प्रतिमाला ८० रुपैयाँमा बिक्री गर्दै आएको छु,ु उनले भने । लोकान्तरबाट