डोजर आक्रमणबाट घाइते भएकी जोशीलाई भारत लगियो
बैतडी, ८ कार्तिक । डोजर आक्रमणबाट घाइते भएकी गौरी जोशी पुनः बेहोस भएपछि थप उपचारकालागि भारत लगिएको छ । नेपालगञ्जमा सीटीस्क्यान गरेर घर फर्काउने क्रममा महेन्द्रनगरमा अचानक बेहोस भएपछि भारत लगेको गौरीका श्रीमान जगदीश जोशीले बताए ।
“छिनछिनमा बेहोस हुने । धनगढी र नेपालगञ्जमा उपचार राम्रो भएन । भारत लगेको छ,” जगदीशले भने, “गरिब मान्छे हजुर । पैसा पनि छैन । श्रीमतीको अवस्था पनि बुझ्न पाएको छैन ।” होटलमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका जोशीले उपचार खर्च पनि नभएको दुखेसो पोखे । उनले भने “घरमा बालबच्चा अलपत्र छन्, कमाएर खुवाउने ममात्रै थिएँ । बेचबिखन गरौं भने घरमा अन्नपात पनि छैन ।,”
दशरथ चन्द नगरपालिका–९ ग्वाल्लेकमा मोटरबाटो बनाउने विषयमा दुई गाउँबीच भएको विवादमा देहीमाडौंबासीले जबरजस्ती गर्न खोजेपछि ग्वाल्लेकबासी विरोधमा उत्रिएका थिए । डोजर चालक केशव बोहोराले जबरजस्ती गर्दै बाटो खन्न थालेपछि प्रतिवादमा उत्रिएकी जोशी गम्भिर घाइते भएकी थिइन् । बकेटले हानेर तीन बल्ड्याङ पछारिएकी जोशीको टाउको र ढाडमा गम्भीर चोट लागेको बताइएको छ ।
डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भवानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध पनि मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले बैतडीले जनाएको छ ।













