छाडा चौपाया व्यवस्थापनकालागि कार्यदल गठन, तालबन्दमा गौशालय निर्माण गर्न प्रस्ताब

धनगढी, ६ कार्तिक । कैलाली र कञ्चनपुर जिल्लामा मुख्य समस्याको रुपमा रहेका छाडा चौपया व्यवस्थापनका लागि सुदूरपश्चिममा कार्यदल गठन भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको स्थानीयतहका जनप्रतिनिधिसंगको बृहट छलफलबाट सुदूरपश्चिम प्रदेशका भूमी व्यवस्था तथा कृषि सहकारीमन्त्री विनितथा चौधरीको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

कार्यदललाई एक महिनाको कार्य अवधि दिइएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । उनले भने, छाडा पशुचौपया व्यवस्थापनको समग्र योजना बनाएर एक महिना भित्र बैठकमा पेश गर्ने गरि कार्यदल गठन गर्ने निर्णय भएको छ । कार्यदलमा कुन–कुन क्षेत्रको व्यक्ति र कति जना रहने भन्ने जिम्मा पनि संयोजकलाई नै तोकिएको छ ।

स्थानीय तहले मात्रै छाडा चौपया व्यवस्थापन गर्न नसक्ने भएपछि प्रदेश सरकारसंग छलफल थालेको हो धनगढी उपमहानगरपालिकाका प्रमुख नृबहादुर वडले भने, छाडा पशु चौपया व्यवस्थापनका थुप्रै प्रयास गर्दा पनि पूर्ण रुपमा गर्न सकिएको छैन । उनले भने, धनगढी उप–महानगरपालिकाले गौशाला बनाएर व्यवस्थापन गरेको छ तर व्यवस्थापन नगरेका स्थानीयतहबाट धनगढीमा पशुचौपया भित्रीने गरेका छन् । छाडा गाईगोरु व्यवस्थापनमा लगानी मात्रै भइरहेको बताउँदै नगरप्रमुख वडले भने, त्यसबाट आयआर्जन गर्ने ढाँचामा व्यवस्थापन गर्ने कुरामा छलफल भएको छ ।

कैलालीको गौरीगंगा नगरपालिकाका प्रमुख भिमबहादुर देउवाले गौरीगंगाको तालबन्द क्षेत्रमा एकिकृत रुपमा पुशचौपया व्यवस्थापनका लागि गौशाला निर्माण गर्ने प्रस्ताव आफूले राखेको बताए । उनले भने, त्यहाँ ५ सय बिगाहा भन्दा बढी जमिन रहेको छ ।

गोदावरी नगरपालीकाका प्रमुख हरी साउदले सामुदायीक पशुचौपयाको व्यवस्थापन कैलाली र कञ्चनपुका सबै स्थानीय सरकार र प्रदेश सरकार मिलेर गर्ने विषयमा छलफल भएको बताए । उनले भने, पशुचौपया व्यवस्थापन स्थानीय तहको मात्रै सरोकारको विषय होईन ।

छलफलमा घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी, कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी लगायतको सहभागिता रहेको थियो ।