टिकापुर घटनाको बहसमाथि उच्च अदालतको सुनुवाई स्थगित
कैलाली, ३ कात्तिक । टीकापुर घटनाको बहसमाथि उच्च अदालत दीपायल आईतबारदेखि सुनुवाई हुने भनिएपनि स्थगित भएको छ । कैलाली जिल्ला अदालतले गरेको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय र सजाय पाएकाहरुले उच्च अदालत दीपायलमा पुनरावेदन गरेपछि सनुवाई हुने भनिएको थियो ।
सरकारी वकिलको कार्यालयले सजाय थोरै भएको भन्दै र सजाय पाएकाहरुले घटना राजनीतिक भएकाले आफूहरुलाई सजाय हुन नहुने भन्दै पुनरावेदन गरेका छन् । सो पुनरावेदनको मिसिल हेरेर उच्च अदालत दीपायलमा सुनुवाई गर्ने भनिएको थियो ।
न्यायाधीश धीरबहादुर कार्की र नरसूल्लाह अन्सारीको पेशी तोकिएकोमा टीकापुर घटनामा दोषी ठहर भएका नाबालक करन चौधरीको पुनरावेदन परे, नपरेको बारेमा जवाफ माग भएको उच्च अदालत दीपायलका निमित्त रजिष्ट्रार ईन्द्रवहादुर कठायतले जानकारी दिए।
जिल्ला अदालत कैलालीले चौधरीलाई बालबालिका ऐन २०४८ को दफा ११ (२) बमोजिम ६ महिना कैद हुने आदेश दिएकोमा उनको कैद भुक्तान भईसकेकाले थुना मुक्त गरिएको थियो। कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते टीकापुर घटनाको आरोपमा रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।













