गरिमा र सिन्दूरी धानले ३ करोड रुपैयाँ क्षति

धनगढी, २ कात्तिक । कैलाली र कञ्चनपुर जिल्लामा गरिएको गरिमा (वर्णशंकर) र सिन्दुरी (खुला सेचित) जातको धान खेतीमा बाला नलाग्दा झण्डै ३ करोड रुपैयाँ मूल्य बराबरको क्षति पुगेको छ ।

सुदूरपश्चिम प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले यी दुवै जिल्लामा ३४९ हेक्टरमा गरिएको गरिमा र सिन्दुरी जातको धानखेतीमा बाला नलाग्दा १ हजार २०० कृषकले क्षति व्यहोरेको जानकारी दिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बीनितादेवी चौधरीको अध्यक्षतमा मन्त्रालयमा बसेको बैठकले कृषि प्राविधिक टोलीद्वारा बाला लाग्न नसकेको विषयमा गरिएको अध्ययनको विषयमा छलफल गरिएको छ ।

बैठकमा आवश्यक छानबिन गरी सम्बन्धित बीउ विक्रेता र उत्पादन गर्नेमार्फत पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि संघीय मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरिएको छ । बैठकमा मन्त्री चौधरीले यो विषयमा आवश्यक छानबिन गरी दोषीलाई कारवाही र पीडित किसानलाई क्षतिपूर्ति दिन पहल गरिने बताए ।

गरिमा जातको धानको बीउ नेपालमा सनराइज एग्रीकल्चर एण्ड रिसर्च सेन्टर टिकुलीगढ दाङले वितरण गरेको थियो । धानको बीउ वितरणको विषयमा सनराइज एग्रीकल्चर रिसर्च सेन्टरकी प्रमुख सुनिता चौधरीसँग बुझ्दा उनले भारतबाट नै प्याकिङ भई लेभल लगाएर ल्याइने बताइन् । उनले भारतमा ब्रिडिङ गरिने भएकाले प्याकिङको समयमा त्रुटी भएको हुन सक्ने आशंका व्यक्त गरिन् ।

तर, यसको आधिकारिक टुंगो ल्याव टेष्टबाट हुने भएकाले अहिले नै यही हो भन्न सकिने अवस्था भने नरहेको बताईन् । रिसर्च सेन्टरले उपलब्ध गराएको तथ्याङ्क अनुसार गरिमा धानको बीउ २१ टन बढी बिक्री भएको यियो ।

सनराइज एग्रीकल्चर रिसर्च सेन्टर टिकलीगढ, देउखुरीले विभिन्न ६ वटा केन्द्रमार्फत गरिमा धानको बीउ बिक्री गरेको हो । बिक्री गर्ने केन्द्रहरूमा मिलन एग्रोभेट सेन्टर (लमही, दाङ) ले २१६ किलोग्राम र लाली गुराँस एग्रोभेट सेन्टर (लमही दाङ) ५०४ किलोग्राम, प्रशान्त एग्रोभेट सेन्टर (खुरखरे, चितवन)ले १३,५०० किलोग्राम, मुनाल एग्रोभेट कन्सर्न (नेपालगञ्ज, बाँके) ले ३,००० किलोग्राम, आर.एज. एग्रोभेट सेन्टर, (जोशीपुर, कैलाली) ले २,५०० किलोग्राम र किसान एग्रोभेट सेन्टर, (धनगढी, कैलाली) ले १,१०० किलोग्राम बीउ वितरण भएको थियो ।