डोटीमा बस दुर्घटनाहुँदा ११ जना घाइते, छ गम्भीर

डोटी, २ कार्तिक । डोटीमा शनिबार अपराह्न यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

घाइतेहरुलाई उपचारको लागि अत्तरियास्थित पद्मा अस्पतालमा ल्याइएको छ । डडेल्धुराबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८२३५ नम्बरको बस जोरायल गाउँपालिकास्थित भीमदत्त राजमार्गमा दुर्घटना भएको थियो । बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपि, यकिन कारण खुल्न सकेको छैन ।

घाइतेहरुको टाउको, हातखुट्टा लगायतमा चोट लागेको जनाइएको छ । दुर्घटना हुनुको अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीप देउवाले जानकारी दिए ।