जोखिम मोलेर खर काट्दा एक महिनामै तीन महिलाको मृत्यु
बैतडी, २९ असोज । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा महिलाहरु जोखिम मोलेर खर काटिरहेका छन् ।
पहाडको अग्लो भीरमा घाँसको लोभमा खर काट्दा चिप्लेर एक महिनामै तीन जना महिलाले ज्यान गुमाई सकेको दोगडाकेदार गाउँपालिका ६ लामाखेतका कमला भण्डारीले जानकारी दिईन् । उनका अनुसार गत शनिवार मात्रै सुर्नया गाउँपालिका–४ का रमा महाराको मृत्यू भएको थियो ।
स्थानीय जैसिया भीरमा खर काटिरहेका बेला चिप्लेर लड्दा रमाको घटनास्थलमै मृत्यु भएको थियो । भदौ अन्तिम सातादेखि खर काट्ने सिजन सुरु भएकाले महिलाहरुले घाँस काट्ने लोभमा जोखिम मोलेर भीरमा जाने गरेको उनको भनाई छ ।
पहाडी क्षेत्रका महिलाहरु भीरमा गएर खर काट्नुपर्ने बाध्यता हुन्छ । ‘घरमा गाई, भैंसी पालेका हुन्छन्,’ भण्डारी भनिन्, ‘गाईवस्तुका लागि जोखिम मोलेर घाँसका लागि खर काट्नुपर्छ।’ यहाँ अधिकांश महिलाहरु खर काट्छन्।
‘पहाडका खर बढीजसो भीरमै हुन्छ।’ यही असोज २२ मा पनि सुर्नया गाउँपालिका–५ की ४८ वर्षीया राजमति विष्टको खर काट्नेबेला भीरबाट लडेर मृत्यु भएको थियो।
गत भदौ ३० मा सिगास गाउँपालिका–८ पुतलीपुरकी १४ वर्षीया नारुली बोहराको खर काट्ने क्रममा छोटेधार थाँचर भीरमा लडेर मृत्यु भएको थियो।













