धान पाक्यो, सुदुरपश्चिम प्रदेशमा उत्पादन घट्ने आकलन

कैलाली, २९ असोज । सुदूरपश्चिम प्रदेशमा यो वर्ष धान उत्पादन घट्ने आकलन गरिएको छ । खेतमा धान पाकेर किसानहरुलाई भित्रियाउन हम्य हम्य भएको छ ।

किसानहरु सबै खेतमा काम गर्ने भएकोले दिउँसो गाउँ नै सुनसान हुने गर्दछ । घरमा साना बालबालिका तथा बृद्धहरु मात्रै भेटिने गर्दछन् ।

मौसमको कारण दशैं अगाडी नै पाकि सकेको धानपनि भित्रियाउन नपाएर अहिले किसानहरुलाई धान भित्रियाउन हम्य हम्य परेको हो ।

तिहार नजिकै आईसकेकोले किसानहरु खेतको काम भ्याएर तिहारमा रमाईलो गर्ने उदेश्यका साथ खेतमा काम गरिरहेको धनगढी उपमहानगरपालिका वडा नं. १८ फुलबारीका किसाहरुको भनाई छ ।

यो वर्ष मनसुन ढिला सक्रिय भएका कारण धान उत्पादन घट्ने अनुमान गरिएको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

पानी ढिला पर्नु,धानमा बाल नलाग्नु,दान नलागेको र गाँज पनि नहालेको हुँनाले उत्पादन घट्ने मन्त्रालयका वरिष्ठ वागवानी विकास अधिकृत खगेन्द्र प्रसाद शर्माले बताए ।

‘पानी ढिला पर्नु,सिँचाइको व्यवस्था नहुँनु,आकाशे पानीका भर पर्नु लगाएका कारणले यो वर्ष धान उत्पादन घट्ने अनुमान गरेका छौँ,’उनले भने ।

गत वर्ष राम्रो उत्पादन भएको धान यो वर्ष पाँच प्रतिशतले घट्ने आँकलन गरिएको बताउदै कैलाली र कञ्चनपुर लगाइएको गरिमा धानमा बाला नलाग्दा समेत धान उत्पादनमा घट्नुमा केही असर पुगेको बताए ।

कैलाली र कञ्चनपुरमा ७० क्वीडल धानको बिउ लगाइएको थियो। उनका अनुसार सुदूरपश्चिममा ४५ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाई सुविधा छ। सुदूरपश्चिममा एक लाख ८१ हजार चार सय २४ हेक्टर क्षेत्रफलमा धान रोपाई हुँदै आएको छ ।

सुदूरपश्चिम प्रदेशमा गत वर्ष पाँच लाख ८४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कैलाली र कञ्चनपुरमा धान उत्पादन हुन्छ । भने,पहाडी क्षेत्रका महाकाली तथा सेतीका फाँटहरूमा धान उत्पादन राम्रो हुने वरिष्ठ वागवानी विकास अधिकृत शर्माले बताए ।

प्रदेशका तराई क्षेत्रमा सर्जु बाउन,सावित्री,राधा ४ र १४,सुख्खा १,२,३,४,५ र जानकी जातका धानका बिउ लगाउँदै आएको छ। भने,पहाडी क्षेत्रमा राधा १४ र रामधान लगायतका धानका बिउ लगाउँदै आएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कृषि मन्त्रालयका अनुसार गत वर्ष ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

आ.व.२०७४/७५ मा ५१ लाख ५१ हजार धान उत्पादन भएकोमा गत वर्ष ४ लाख ५८ हजारले बढी अर्थात् ८ दशमलव ८९ प्रतिशतले उत्पादनमा वृद्धि भएको मन्त्रालयले जनाएको छ ।