आज ढिक्री पुज्ने दिन, थारु समुदायमा यसरी मनाउँछन् डसिया

कैलाली, १९ असोज । थारु समुदायमा अष्टमीको दिन देउतालाई ढिक्री पूज्ने गर्दछन् । घरको किसनुवा–मिस्निया (घरमूली महिला–पुरुष) ले दिनभरि भोकै बसेर साँझ ढिक्री पुज्ने गर्दछन् ।

साँझ परेपछि डेहुरार (देवताको कोठ) लाई सरसफाई गरेर सबै देउताहरुलाई नुहाएर नयाँ दियो बाल्ने चलन छ । साथै गोलो ढिक्रि, बाबरी, जमरा, रक्सी र जल चढाएर पूजा गर्छन् । देउता भएको घरका मान्छेले भेंडाको प्रतीकको रुपमा कुपिण्डोको भेंडा बनाएर त्यसकै पूजा गर्ने गर्छन् ।

त्यसै गरी गोठमा ढमराज, पूर्वको आँगनमा लगायत अन्य देउताहरुलाई पनि पूज्दछन् । पूजा गर्नेबेला बानढुप पनि चढाउँछन् र सिन्दुर र कजरा (खरानी)को टीका पनि लगाउँछन् । पूजा गर्नेबेला मादल बजाई ट्रासन बजाउने गर्छन् । यसरी पूजा गरी दिनभरि भोकै बसेका घरमूलि रातिको भोजन ग्रहण गर्छन् ।

रात रातभरि देउतालाई जगाउँछन् । देउता जगाउनुलाई दियो जगाउने पनि भनिन्छ । रातभरि जाग्नु पर्ने हुनाले नाचगान पनि गर्छन् । नाचगान नभए बर्किमार गाएर रात काट्छन् । देउता जगाउनेहरुलाई डेहुरारको पाटा माथिको रक्सी पिउन मिल्छ । पाटामा राखिएको रक्सीलाई भेंर्वाको रक्सी पनि भनिन्छ ।

बिहान नवमीको दिन घरमूलि नुहाएर फेरि सबै देउताहरुलाई हिजोको जस्तै जमरा–बाबरी चढाएर कुखुरा पुज्छ । पूज्नु भन्दा पहिले पाटा माथिको बर्ह्नि (झारु) हटाएर नयाँ बर्ह्नि राख्छ । जुन एक वर्ष पछि दोश्रो डसियासम्मको लागि मात्रै राखिन्छ र दोश्रो डसियाको टिका जमरा र बेबरीको माला लागाएर आफू भन्दा ठूलोबाट अर्शिबाद लिने चलन छ ।

डसयिा पुज्नेले डेहुरार पिट्टर दिने चलन पनि छ । पिट्टर दिँदा पुस्तान्तर अनुसारको खानेकुरा राख्ने चलन छ । जस्तै सात पुस्ताका पुस्ताको पितृहरुलाई सम्झिँदा सात वटा टपरीमा खाने कुरा राख्छन् भने हो पाँच पुस्ताको पितृलाई पाँच टपरीमा अथवा जति पुस्ताका पितृहरुले सम्झिने हो त्यही अनुसार खानेकुरा दिने चलन ।

यो पनि थारू परम्परा अनुसार गरिने प्रकृया हो । पूजा सकिएपछि महिलाहरु नदी घाट, कुलामा पिट्टर सेलाउन जान्छन् । पिट्टर सेलाउन जाँदा करैमा छाँकि, समूह–समूहमा महिलाहरु ढकियामा डेहुरार राखिएको पूरानो बर्ह्नि, पूजा गरेको जमरा, बाबरी, कुपिण्डोको भेंडा लगायत जुन–जुन ठाउँ पूजा गर्छन् त्यहाँ सफा गर्दा निस्किएको फोहर लिएर जान्छन् । साथै खानपिनको लागि छाँकि र तरकारी पनि लिएर गएका हुन्छन् । सेलाई सकेपछि सबैजना मिलेर आफूसंग लिएर आएको छाँकि सबै मिली खान्छन् र मनोरञ्जन पनि गर्छन् ।

घाटमै अलिअलि नाचगान पनि गर्छन् । डसिया मनाउन आएका अरु पाहुनाहरुलाई सँधै खुवाउने पिलाउने महिलाहरु आजको दिन भने स्वतन्त्रपूर्वक रमाइलो गर्छन् ।