थारु समुदायमा दशैंकोबेला माटोको भाडा अनिवार्य
कैलाली, १७ असोज । कैलालीको कैलारी गाउँपालिका वडा नं. ७ का थारु महिलाहरु कुमालेसंग भाटोको भाडा खरिद गरि पुजा सामाग्री तयारी गरिरहेका छन् ।
थारु समुदायमा दशैंको बेला माटोको भाडा अनिवार्य हुन्छ । दशैंमा पुजा सामाग्रीकोरुपमा माटोको भाडा प्रयोग हुने भएकोले थारु महिलाहरु चामलसंग साटेको कैलारी गाउँपालिका ७ का पूजा चौधरी बताउछिन् ।
उनी भन्छिन् ‘दशैंका नयाँ करुवा (पानी खाने भाडो), करै (रक्सी राख्ने भाडो), दोरिया (रक्सी बनाउने भाडो), दिया (देवताको लागि दियो), आदि सामाग्रीहरु सामान अनुसार दुई चामाल दिएर सामान ल्याएका हौं।’
दशैंमा देवतालाई सबै सामाग्री नयाँ हुनुपर्ने चलन छ । कोही कोही देवता पनि नयाँ भर्ने गर्दछन् भने कोही पुरानै देवतालाई नुहाई धुवाई गरि धागो, दियो, करै नयाँ फेर्ने चलन रहेको पूजाले बताइन् ।

कैलारी गाउँपालिका कैलालीका अध्यक्ष लाजुराम चौधरीले कैलारीमा वडा नं. ५, ६ र ९ मा कुमालेहरुको बसोबास रहेको बताए । उनीहरुको पेशा संकटमा रहेकोले कैलारी गाउँपालिकाले लक्षित वर्गमा कुमाले समुदायलाई राखेको बताए ।
अध्यक्ष चौधरीले कुमालेहरुको पेशालाई संरक्षण र सम्बद्र्धन गर्न लक्षित वर्गको बजेट विनियोजन गरिएको बताए । सो बजेटबाट उनीहरु सीपमूलक तालिम दिई पेशालाई आधुनिकीकरण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।
उनीहरुको परम्परागत पेशालाई विस्थापित हुन नदिन पलाष्टिक भाडालाई विस्थापित गर्न आवश्यक रहेको बताउँदै माटोको भाडोलाई प्रयोग गर्नु एकदमै उपयूक्त हुने बताए । अध्यक्ष चौधरीले कुमाले पेशा विस्तारै विस्थापित भईरहेकोले उनीहरुलाई स्वरोजगारीमूलक सीप दिन जरुरी रहेको बताए ।
थारु समुदाय माटोको भाडा खरिद गरेर एक तर्फ थारु कला संस्कृतिको संरक्षण हुदैछ भने अर्को तर्फ कुमाले समुदायको पेशगत संरक्षणमा टेवा पुगिरहेको छ ।













