पर्यटक भित्रियाउन बाल उद्यान

कैलाली, १७ असोज । धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सारमा पर्यटक भितियाउन बाल उद्यान सञ्चालन गरिएको छ । ३ करोड लगानीमा निर्माण गरिएको बाल उद्यान शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

नेपाल भारत सिमानाका नजिकै दुई वर्षपहिले रु १५ करोड लागानीमा धनगढी फन पार्क सञ्चालनमा आएको छ । फन पार्कको परिसरभित्रै उक्त बाल उद्यान सञ्चालनमा ल्याइएको हो । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक यति ठूलो लगानीमा सञ्चालित फन पार्कभित्रै बाल उद्यानको स्थापना गरिएपछि धनगढीमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षासहित बाल उद्यान सञ्चालनमा ल्याइएकोे सञ्चालक श्याम विष्टले जानकारी दिए ।

सञ्चालक विष्टले चारपाँच महिनाको अवधिमा मात्रै २० हजारभन्दा बढी पर्यटक भित्रिएको जानकारी दिँदै बाल उद्यान शुरु भएपछि यो सङ्ख्यामा अझै उल्लेखनीय वृद्धि हुने बताए । सीमानाकास्थित फनपार्कमा आउने अधिकांश पर्यटक भारतीय पर्यटक रहेका उनको भनाई छ ।

फनपार्कमा भारतको पलिया, लखनऊ, कानपुर, साजनपुर, पिलिभित लगायतका शहरबाट पर्यटक आउने गरेका छन् । अहिलेसम्म पर्यटकहरू जल विहार गर्न मात्रै आउने गरेका विष्टले बताए । अब भने पर्यटकहरु खुलेर बाल उद्यानमा रमाईलो गर्न सक्ने अपेक्षा लिएको सञ्चालक विष्टले बताए ।