दशैंको अवसरमा एभरेष्ट एकेडेमीले दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान
अत्तरीया, १७ असोज । एभरेष्ट एकेडेमी अत्तरीयाले दुई जना छात्रहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । ललितपुर निवासी मल्लिका भट्टराईले उहाँको आमा तेजकुमारी भट्टराईको नाममा अक्षयकोष स्थापना गरी छात्रवृत्तिको व्यवस्था गरेका हुन् । अक्षयकोष प्रारम्भिक चरणमा एक लाख रुपैयाँको स्थापना गरिएको छ ।
उक्त छात्रवृत्ति एभरेष्ट एकेडेमीमा कक्षा एकमा अध्ययनरत छात्र पियुष पन्तलाई प्रदान गरिएको हो । पियुष पन्तको सम्पुर्ण विद्यालयको अध्ययन शुल्क तेजकुमारी भट्टराई छात्रवृत्ति अक्षयकोष मार्फतले वेहोर्न स्कुलका प्रिन्सिपल इस्माई चौधरीले जानकारी दिए ।
त्यसै गरी लहिया देवी चौधरी स्मृति छात्रवृत्ति कक्षा ९ मा अध्ययनरत दिलीप चौधरीलाई प्रदान गरिएको छ । दिलिप चौधरीको कक्षा ९ र १०को सम्पुर्ण विद्यालय खर्च छात्रवृत्ति कोषले व्यवस्था गर्नेछ । सयुक्त राष्ट्र संघ अन्तरगत आदिवासी मामिला स्थायी मञ्चका उपाध्यक्ष तथा एशिया प्रतिनिधि फुलमान चौधरीले उहाँको आमाको नाममा लहिया देवी चौधरी स्मृति छात्रवृत्ति स्थापना गरेका छन् ।
दशैं तथा दिपावलीको शुभकामना आदान प्रदानका लागि आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका उपमेयर रत्ना कडायतले दुबै विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो । दुबै जना छात्रहरु अध्ययनमा अव्वल तर पारिवारिको आर्थिक स्थिति कमजोर रहेको छ ।













