थारु सांस्कृतिक प्रबद्र्धनका लागि पौराणिक बाजा
कैलाली, १४ असोज । कैलालीको जानकी गाउँपालिका वडा नम्बर १ दुर्गौलीमा गरिब तथा जेहेन्दार अपाङ र अनाथ बाबालिकाहरुलाई छात्रवृति वितरण तथा थारु सांस्कृतिक प्रबद्र्धनका लागि पौराणिक बाजाका सामाग्री वितरण गरिएको छ ।
वडा नम्बर १ को आर्थिक वर्ष २०७६÷०७७ को सामाजिक विकास कार्यक्रम अन्र्तगत कार्यक्रमको आयोजना गरिएको हो । जानकी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष धनीराम चौधरीको सभापतित्वमा भएको कार्यक्रममा जानकी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक उमा महतो प्रमुख अतिथी रहेकी थिइन् । कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख कलम खड्का विशिष्ट अतिथी रहेका थिए ।
कार्यक्रममा उपाध्यक्ष महतोले बालबालिकालाई स्टेशनरी तथा पोशाक वितरण गर्दै अभिभावकले पोशाक सफा सुग्घर गरि बालबालिकालाई लगाउन प्रेरित गर्नुपर्ने बताइन् । उपाध्यक्ष महतोले आफना बालबालिकालाई शिक्षक शिक्षिकाहरुले मात्र नभई आफुले समेत ख्याल गर्नुपर्ने, समयमै गृहकार्य लगायतका कार्य गर्न उत्प्रेरित गर्नुपर्ने बताएकी थिइन् ।

यसका साथै उनले थारु पौराणिक बाजा मादल, मन्जीरा र झाल वितरण गर्दै बाजा थारु समुदायका लागि मात्र नभई अन्य समुदायलाई समेत काम लाग्ने भएकाले आवश्यक परेको ठाउँमा अन्य समुदायका मानिसहरुलाई समेत यो सामाग्री प्रदान गर्न आग्रह गरिन् । साथै उपाध्यक्ष महतोले सबै जातजातिको कला संस्कृति जगेर्ना गर्नुपर्ने भएकाले यसलाई निरन्तरता दिनुपर्ने समेत बताएकी थिइन् ।
कार्यक्रममा वडा अध्यक्ष चौधरीले वडाले आफनो वडा अन्तरगतका सामुदायिक विद्यालयमा अध्यनरत गरिब, असाहय जेहेन्दार विद्यार्थीहरुलाई शिक्षामा पहुच पुगोस भन्ने उद्देश्यले सामाग्री वितरण गरेको बताए ।
वडा अध्यक्ष चौधरीले आफनो वडा अन्तरगतमा रहेका ३ वटा सरकारी विद्यालयमा आउँदो शैक्षिक सत्रबाट कक्षा शिशु देखि कक्षा ५ सम्म कुनै पनि शुल्क नलिई पठन पाठनको व्यवस्था मिलाउने समेत प्रतिबद्धता जनाए ।
उनले थारु समुदायमा मादल लगायतका सामाग्री वितरण गरेको र अन्य समुदायको सांस्कृति जगेर्ना गर्ने कार्यक्रम रहेको बताउदै संस्कृति संरक्षणमा वडा गाउँपालिका मात्रैले केही गर्न नसक्ने भन्दै युवा पिढी समेत लाग्न आग्रह गरे ।

कार्यक्रममा श्री महेन्द्र शिशु माध्यामिक विद्यालय धर्मापुर, सरस्वती माध्यामिक विद्यालय दुर्गौली र कालिका आधारभुल विद्यालय बेलासपुरका ६५ जना बालबालिका लाई छात्रवृती वितरण गरिएको हो ।
थारु पौराणीक बाजा मादल, मन्जिरा र झाल धर्मापुर, तौरयापुर र दुर्गौलीलाई वितरण गरिएको छ । कार्यक्रममा वडा सदस्य भागीराम चौधरी शिक्षक मोतीलाल चौधरी बड्घर नाथुराम चौधरी, जंगराम चौधरी र रमेश चौधरी लगायत शुभकामना मनतब्य राखेका थिए । वडा सदस्य सोमती चौधरीले स्वागत गरेको कार्यक्रममा जानकी गाउँपालिका सामाजिक विकास शाखा प्रमुख हिरालाल चौधरीले सञ्चालन गरेका थिए ।













