आर्थिक विकास परियोजना कार्यान्वयनमा छलफल

कैलाली, १३ असोज । स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना कार्यान्वयनका लागि सरोकारवालाहरु बीच छलफल भएको छ ।
छलफलमा उपमहानगरपालिकाका उप प्रमुख सुशिला मिश्र भट्टले आर्थिक विकास बिना चाहेको समृद्धी ल्याउन नसकिने बताईन । धनगढी उप–महानगरपालिका यसको विकासका लागि सबै क्षेत्रसंग हातेमालो गरेर काम गर्न तयार रहेके समेत उप–प्रमुख भट्टको भनाई थियो । उनले सार्वजनिक निजी साझेदारी सम्वन्धी कानुन समेत आई सकेको जानकारी दिईन् ।

धनगढीको विकास सबैको चाँसो र चिन्ताको बिषय बन्नुपर्ने बताउदै नगरपालिकाले उद्यमशिलताको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको उप–प्रमुख भट्टले भनिन् । कार्यक्रमको उद्देश्यमाथि धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले प्रकाश पारेका थिए ।

सरकारी, निजी क्षेत्र र सहकारी क्षेत्रका बीचमा आर्थिक विकासमा हुन सक्ने सहकार्य र समन्वयका लागि सबैपक्षको सहभागितामा अन्तरक्रिया शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए । उनले निजी क्षेत्रको सहयोग र सहकार्य बिना विकास संभव नहुने बताए । अन्तरक्रियामा निजी क्षेत्रका समस्या र चुनौतीका विषयमा पनि छलफल हुने सापकोटाले बताए ।

जिआईजेडको आर्थिक तथा प्राबिधिक सहयोगमा शुरु भएको कार्यक्रममा सुदूरपश्चिमको आर्थिक विकासका संभावनाहरु, स्थानीय तथा प्रादेशिक विकास परियोजना कार्यान्वयनका लागि सरोकारवालाहरुबीच छलफल भएको छ । कार्यक्रममा जिआईजेडका दीपक श्रेष्ठले नेपाल र जर्मन सरकारबीच दिगो आर्थिक विकास क्षेत्र अन्तगर्तत २०१८ सेप्टेम्बरमा बर्लिनमा दुबै देशबीच भएको सहमती अनुसार नेपालमा परियोजना सञ्चालन सञ्चालनमा आएको हो ।

सोही सहमती अनुसार जिआईजेडको सहयोगमा यो परियोजना प्रदेश नम्बर ५, कर्णाली प्रदेश ६ र सुदूर पश्चिम प्रदेशमा सञ्चालन भईरहेको श्रेष्ठले बताए । उनले सुदूर पश्चिम प्रदेशका ११ वटा नगरपालिका र उपमहानगरपालिकामा परियोजना सञ्चालन गरिने जानकारी दिए ।
प्रदेश सरकार र स्थानीय सरकारका नगरपालिकाहरुमा आर्थिक विकास एवं छनौट भएका मूल्य श्रृंखला प्रबद्र्धनका लागि आवश्यक संरचनाहरुको अवस्थामा सुधार गर्ने उद्देश्य रहेको परियोजनाको अबधि १ जुन २०१९ देखि ३१ मे २०२२ तीन वर्षको रहेको छ ।