धनगढीमा बाल उद्यान, उद्घाटनको दिन प्रवेश निःशुल्क

धनगढी, ११ असोज । तीन करोडको लगानीमा धनगढी उप–महानगरपालिका वडा नम्बर २ मा बाल उद्यान सञ्चालन गरिएको छ । दुई वर्ष पहिले सञ्चालनमा रहेको फन पार्क भित्रै बाल उद्यान सुरु गरिएको हो । बाल उद्यानको औपचारिक उद्घाटन असोज १७ गते गर्न तयारी गरिएको छ । उद्घाटनको दिन प्रवेश निःशुल्क हुने पत्रकार सम्मेलन मार्फत सञ्चालक श्याम विष्टले जानकारी दिए ।

‘हाम्रो सम्पूर्ण तयारी भइसकेको छ’ उनले भने, ‘अब हामी औपचारिक उद्घाटनमा मात्रै बाँकी छौँ ।’ बाल उद्यानको औपचारिक उद्घाटन असोज १७ गते गर्ने कार्यक्रम तय गरिएको उनले बताए । फन पार्क भित्रै बाल उद्यान सञ्चालन भएपछि धनगढीमा आउने आन्तरिक तथा बाह्यि पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको अर्का सञ्चालक धर्मपाल सिंह रावतले बताए । ‘चार महिनामा मात्रै हामीले २० हजार बढी पर्यटक भित्राएका छौँ ’उनले भने , ‘बाल उद्यान सुरु भएपछि यो सङ्ख्या अझै बढ्ने छ।’

१५ करोड बढी लगानीमा ०७५ साल वैशाख १४ गते फन पार्क सञ्चालनमा आएको थियो । यहाँ आउने मध्ये ७५ प्रतिशत भारतीय पर्यटक रहेको उनले जानकारी दिए । फन पार्कमा भारतको पलिया, साजनपु, पिलिभित , लखनऊ, कानपुर लगायतका सहरहरूबाट पर्यटकहरू आउने गरेको सञ्चालक विष्टले जानकारी दिए । अहिले सम्म पर्यटकहरू जल विहार गर्न मात्रै आउने गरेका बताउँदै विष्टले भने, ‘आगामी दिनमा बाल उद्यानमा रमाउन आउने पर्यटकहरूको सङ्ख्या बढ्दै जाने विश्वास लिएका छौँ ।’

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक यति ठुलो लगानीमा सुरु गर्न लागिएको बाल उद्यानमा ड्यासिङ कार, डुङ्गा, रोटे पिङ, चर्का, ब्रेक डान्स लगायत रहेका छन् । बाल उद्यानको औपचारिक उद्घाटन पछि अर्थात १८ गतेदेखि प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क लाग्ने विष्टले जानकारी दिए ।

सरकारले महत्वकाक्षिं रूपमा आगामी वर्षलाई भ्रमण वर्षको रूपमा मनाइरहेका बेला निजी क्षेत्रबाट भएका यस्ता प्रयासहरूले भ्रमण वर्ष सफल बनाउन ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।