प्रदेश सरकारद्वारा प्रहरीलाई गाडी हस्तान्तरण
धनगढी, ८ असोज । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरीको लागि हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले प्रदेश प्रहरी प्रमुख डिआइजी तारिणि प्रसाद लम्साललाई नौ वटा गाडीको साँचो हस्तान्तरण गरेका छन् ।
मन्त्रालयले ३ करोड ३२ लाख ९१ हजारका नौ गाडी खरिद गरेको थियो । प्रतिगाडी ३६ लाख ९९ हजारका दरले गाडी खरिद गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।
गाडी खरिद गरेको झन्डै ७५ दिन पछि प्रदेश सरकारले प्रहरीलाई गाडी हस्तान्तरण गरेको हो । प्रदेश प्रहरीको लागि भनेर खरिद गरिएको गाडी प्रदेश प्रहरी गठन हुन ढिलाइ हुने भएपछि नौ वटै जिल्लामा हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बताए ।
प्रदेशका सबै जिल्लाहरुमा प्रहरीको लागि सवारी साधन अभाव भइरहेका बेला प्रदेश सरकारले वितरण गरेको गाडीले शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहज हुने अपेक्षा गरिएको छ ।













