माया विक प्रकरणः ९औं पटक पेशी स्थगित पछि बहस पेश गर्न आदेश

धनगढी – कैलालीको गौरीगंगा नगरपालिका–११ की माया विकको सामूहिक बलात्कारपछि हत्या भएको मुद्दाको फैसलामा पटक पटक पेशी स्थगित पछि बल्ल बहस पेश गर्न आदेश भएको छ ।

घटनाको मुद्दा अन्तर्गतको ९ औं पटकको पेशी स्थगित भएको थियो । १०औं पटकमा जिल्ला अदालत कैलालीका कैलालीका न्यायाधीश कृष्णप्रसाद नेपालको एकल इजलालले वादी र प्रतिवादी पक्षका वकिललाई लिखित बहस नोट पेश गर्न आदेश जारी गरेका हुन् ।

अदालतको श्रेस्तेदार भुवन गिरीका अनुसार मंगलवार तोकिएको १० औंं पटकको पेशीको सुनुवाइ गर्दै आदेश जारी गरेको बताए । मुद्दाको फैसला दशैंलगत्तै हुन सक्ने श्रेस्तेदार गिरीले बताए ।

गत वर्ष असार १२ गते कार्यालय जान घरबाट हिँडेकी विकको १५ गते गौरीगंगा नगरपालिका–११ कै चपथली सामुदायिक वनमा शव भेटिएको थियो । उनको सामूहिक बलात्कारपछि हत्या भएको थियो ।

बलात्कारमा संलग्न रहेको भन्दै प्रहरीले गौरीगंगा–११ का गणेश बडूवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र दीपेन्द्र बोगटीलाई पक्राउ गरेको थियो । पाँचै जनाविरुद्ध कर्तव्य ज्यान, जबरजस्ती करणी र अपहरण अन्तर्गत मुद्दा चलिरहेको छ । हाल उनीहरू पुर्पक्षका लागि थुनामा रहेका छन् ।

घटना भएको १ वर्षभन्दा बढी समय बितेपनि फैसला नहुँदा पीडित परिवारले अन्याय भएको अनुभूति गरेका छन् । बलात्कारजस्तो निकै संवेदनशील मुद्दालाई चाँडै टुंगो लगाउनुपर्ने भएपनि पटक–पटक सरेको पेशीले पीडित परिवारमा निराशा छाएको हो । मायाका बुवा खडक विकले विभिन्न नाममा फैसला लम्ब्याएर आफूहरूलाई पीडामाथि पीडा थोपारिएको दुःखेसो सुनाए ।

हालसम्म प्रतिवादीका कानून व्यवसायी र सरकारी वकिलबाट ४र४ पटक र १ पटक इजलास नै नबसेर मुद्दाको पेशी सरेको जनाइएको छ ।
जिल्ला अदालत कैलालीले गरेको थुनछेक आदेशविरुद्ध प्रतिवादीका तर्फका कानून व्यवसायीले उच्च अलदातमा रिट दायर गरेपछि सुनुवाइमा ढिलाइ भएको अदालतका श्रेस्तेदार गिरीले बताए ।