पुनम एनआरएन युकेको पहिलो अध्यक्ष

गैरआवासीय नेपाली संघ (एनआरएन) युकेको अध्यक्षमा पुनम गुरुङ निर्वाचित भएकी छन् । एनआरएन युकेमा पहिलो महिला अध्यक्ष भएर इतिहास रचेकी छिन् । एनआरएन युकेकी तत्कालिन उपाध्यक्ष गुरुङ एनआरएन युकेको नयाँ कार्यसमिति २०१९ र २०२० का लागि अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।

गुरुङले ४ हजार ५ सय ५१ मत प्राप्त गरी अध्यक्षमा विजयी भएकी हुन् । रोजिना प्रधान राई ४ हजार ४ सय ४४ मत प्राप्त गरी महिला उपाध्यक्षमा बिजयी भएकी छन् । रञ्जिता मल्ल ४ हजार ४ सय ९६ मत प्राप्त गरी महिला सचिबमा बिजयी भएकी छन् भने प्रसुना कंडेल ३ हजार ३ सय ८५ मतसहित महिला संयोजकमा बिजयी भएकी छन् ।

डेढ दशकको इतिहासमा पहिलोपटक गुरुङ निर्वाचित भएकी हुन् । उनले निर्वाचित भएपछि सामूहिक लगानी कोषको निर्माण गर्ने, ब्रिटेन–नेपाल र नेपाली–ब्रिटिश समुदायबीचको प्रगाढ सम्बन्धलाई प्रवर्धन गर्ने, महिला सशक्तिकरण र महिला उद्यमशिलताको विकास गर्ने, नेपालका स्वस्थ्य चौकी र हस्पिटलहरुमा टेलिमेडिसिनको व्यवस्था गर्ने, बेलायतमा नेपाली व्यापार र उद्यमशिलताको प्रवर्धन गर्ने लगायतका काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । गुरुङ १७ वर्षदेखि बेलायतमा सक्रिय छिन् ।