डोटीको एक महिला माथि श्रीमान र ससुराद्वारा कुटपिट

डोटी, १ असोज । डोटीको जोरायल गाउँपालिका वडा नम्वर २ कि भागरथी ऐरमाथि उनकै श्रीमान र ससुराले मरणासन्न हुने गरि कुटपिट गरेका छन् । भागरथीका श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट गरेका हुन्।

‘घर नजिकै रहेको बारीबाट बच्चालाई खुवान मकै टिपेको निहुका श्रीमानले किन मकै खाएको भन्दै कुट्न सुरु गरे ।’ ‘श्रीमानसंगै ससुराले पनि कुटपिट गरे।’ श्रीमान र ससुराले हातखुट्टा बाधेर समेत कुटपिट गर्न थालेपछि सासु बिमला ऐर, जेठाजु भीम बहादुर ऐर, भतिजी तारा ऐर र जेठानी नन्दा ऐरले पनि कुटपिट गर्न सघाएको पीडित महिलाले बताईन् ।

उनको भदौं २६ गतेदेखि नै अत्तरिया स्थीत पदमा अस्पतालमा उपचार भईरहेको छ। ईलाका प्रहरी कार्यालय बुडरले कुटपिट भएकै दिन उनलाई उपचारका लागि पदमा अस्पताल पुगाएको थियो।

ईलाका प्रहरी बुडरका प्रहरी नायव निरिक्षक कर्ण वहादुर रौलेले मंगलवार मात्रै कार्यालयमा पीडितको तर्फबाट ठाडो उजुरी आएको बताए। ‘कुटपिट गरेकै दिन भागरथीका श्रीमानलाई पक्राउ गरेका थियौँ,’ प्रहरी नायव निरिक्षक रौलेले भने, ‘उजुरी नै नपरेपछि दोश्रो दिन नै छोड्न बाध्य भएका थियौँ।’

ईलाका प्रहरी कार्यालय बुडरमा सामान्य ठाडो निवेदन मात्रै दर्ता हुने भएकोले पीडितका आफन्त असोज १ गते उजुरी दर्ताका लागि जिल्ला प्रहरी कार्यालय डोटी पुगेका छन्।