अबैध मदिरा बिक्रि बितरणमा बन्देज

कैलाली, २८ भाद्र । कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर ५ र ६ मा अबैध मदिरा बिक्रिबितरणमा बन्देज लगाउँनुका साथै लाईसेन्स प्राप्त गरेका मदिरा पसललाई मदिरा बिक्रिबितरणका लागि समय निर्धारण गरिएको छ ।

धनगढी उप–महानगरपालिका–५, हसनपुरमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा भएको बृहत छलफल पश्चात उप–महानगरपालिकाको वडा नम्बर ५ र ६ मा अबैध मदिरा बिक्रिबितरणमा बन्देज लगाएको हो भने लाईसेन्स लिएका मदिरा व्यवसायीलाई बेलुका पाँच बजेपछि र १० बजेभित्र मात्र मदिरा बिक्रिबितरण गर्न समय तोकिएका छ । मदिरा पसलमा भएका अबैध मदिरालाई व्यवस्थापन गर्न मदिरा व्यवसायीहरुलाई एक हप्ताको समय समेत दिईएको छ ।

छलफल कार्यक्रममा उपस्थित प्रहरी, वडा नम्बर ५ र ६ का जनप्रतिनिधी, सेवा केन्द्रका पदाधिकारी, शिक्षक, ब्यापारी, बजार व्यवस्थापन समितिका पदाधिकारी, टोल विकास, विभिन्न क्लवका प्रतिनिधी, आमा समुहका सदस्यहरुको उपस्थितीमा सो निर्णय गरिएको हो ।

यस्तै, वडा नम्बर ५ र ६ मा मदिरा बिक्रिबितरणका लागि नयाँ व्यवसाय संचालनका लागि अति आवश्यक देखिएका क्षेत्र बाहेक अन्य क्षेत्रमा मदिरा बिक्रिबितरणका लागि सिफारिस नगर्ने वडा नम्बर ५ र ६ का जनप्रतिनिधले लिखित प्रतिबद्धता समेत जनाएका छन् ।

८० जनाभन्दा बढीको उपस्थितीमा भएको बृहत छलफलपछि अबैध मदिरा, मदिरा बिक्रिबितरणमा समय सिमा निर्धारण नहुँदा बिहानैदेखि मदिरा बिक्रिबितरण हुदा परिवारमा कलह बढ्नुका साथै समाजमा अराजकता सिर्जना हुँनुका साथै अपराधिक क्रियाकलाप बढ्दै गएकाले अबैध मदिरा बिक्रिबितरणमा बन्देज लगाउँनुका साथै मदिरा बिक्रिका लागि समय निर्धारण गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जनकराज पाण्डेयले बताए ।

बृहत छलफलपछि गरिएको निर्णमा वडा नम्बर ५ र ६ का जनप्रनिधि, जिल्ला प्रहरी कार्यालय कैलाली, वडा प्रहरी कार्यालय धनगढी, आमा समुह, शिक्षक, ब्यापारी, बजार ब्यवस्थापन समितिले सहमति जनाएका छन् ।

कार्यक्रममा बोल्दै वडा नम्बर ६ का अध्यक्ष भागिराम चौधरीले भएका निर्णयहरु कार्यान्वयका लागि आफू कटिबद्ध हुने बताउँदै अबैध मदिरा नियन्त्रणका लागि क्लव, टोल विकासलाई परिचालन गर्ने बताउँनुभयो । अबैध मदिरा बिक्रिबितरण नगर्न वडाबाटै निर्णय गरिसकेको बताउँदै अब पनि निर्णयको बर्खिलाप गर्नेलाई कानुन बमोजिम कार्वाहीका लागि अभियान अगाडी बढाउँने बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक गोबिन्द खड्काले कानूनको उल्लघंन गर्नेलाई कडा कार्वाही गरिने बताउँनुभयो । अबैध मदिरा बिक्रि नगर्नुहोस् प्रहरी निरीक्षक खड्काले भन्नुभयो, अबैध मदिरा बिक्रिबितरण गरिएको पाइए अब छोडिन्न, कानुन बमोजिम कार्वाही गरिन्छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुरका अध्यक्ष जनकराज पाण्डेयको अध्यक्षतामा भएको अबैध मदिरा बिक्रिबितरणका लागि सरोकारवालासंग छलफल कार्यक्रमको सहजीकरण सेवा केन्द्रका सचिव भिम चौधरीले गरेका थिए ।