डेंगु संक्रमणबारे सभामुखको ‘रुलिङ’, रोग नियन्त्रणकोलागि सुपमा पनि अभियान

धनगढी, २६ भदौ। सभामुख कृष्णबहादुर महराले डेंगुको संक्रमणका सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई ‘रुलिङ’ गरेका छन् ।

प्रतिनिधिसभाको आज (बिहीबार) बसेको बैठकको शून्य समयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले डेंगुको महामारी फैलिँदासमेत सरकारले नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै यस सम्बन्धमा सरकारको धारणा माग गरेपछि सभामुखले रुलिङ गरेका हुन् ।

उनले डेंगु संक्रमणका विषयमा संसदमा पटक–पटक आवाज उठेको भन्दै यस विषयमा संसदमा जानकारी गराउन स्वास्थ्यमन्त्री र सरकारलाई निर्देशन दिए । उनको रुलिङपछि पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भने स्वास्थ्यमन्त्रीको राजीनामा मागे ।

रुलिङ गरेर झारा टार्ने भन्दै उनले स्वास्थ्य संकटकाल घोषणा गरेर नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गरे । केही दिनदेखि सांसदहरुले संसदमा निरन्तर डेंगुका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

सुदूरपश्चिममा रोग नियन्त्रणकोलागि अभियान

सुदूरपश्चि प्रदेशका सामाजिक विकास मन्त्री कुष्ण सुबेदीले डेंगु संक्रमणबाट बच्नकोलागि घर वरीपरी सफा राख्नु पर्ने, नियमित झुलको प्रयोग गर्नु पर्ने र खाल्डाखुल्डी र भाडामा धेरै दिनसम्म पानी जम्न नदिने तथा लगातार पाँच दिन भन्दा बढी ज्वरो आएमा स्वास्थ्य संस्थामा जचाउँन आग्रह गरेको छ ।

डेंगु रोग व्यवस्थापन सम्बन्धी सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रममा मन्त्रीले यस्तो आग्रह गरेका हुन् ।

उनले देशभर डेंगुको डर बढेको बताउदै यो रोग नियन्त्रणकोलागि सामाजिक अभियान सत्तचालन गर्ने बतए । बर्षाको पानी जम्ने डब्बा, टायर, ड्रम, फूलदानी, गमला, ट्याँकी आदिमा डेंगु सार्ने लामखुट्टेले फुल पार्ने भएकोले सरसफाईमा ध्यान दिन अनुरोध गरे ।

उनले डेंगु रोगलाई फैलन नदिन प्रदेश सरकारले जनचेतना मूलक कार्यक्रम, सूचना प्रचार प्रचारप्रसार, सार्वजनिक ठाउँमा जमेको पानीमा किटनाशक औषधीहरु छर्ने जस्ता गतिविधिहरु गर्दै आईरहेको बताए ।

सुदूरपश्चिम प्रदेशमा हाल सम्म २८ जनामा डेंगु देखिएको पिएचईओसि डोटीको तथ्यांक छ । कैलालीमा १५, दार्चुलामा ६ कञ्चनपुरमा ४ डोटीमा १ अछाममा १ बैतडीमा १ जना संक्रमणित भेटिएको बताइएको छ । संक्रमित २७ जना एकको मृत्यू र एक जना उपचारमा रहेको र बाँकी सबै डिस्चार्ज भएको तथ्यांकमा उल्लेख गरिएको छ ।