सामूहिक बलात्कार गरेको आरोपमा नौ जना पक्राउ
नवलपरासी, २४ भदौ । भारतको सीमानजिकै १९ वर्षिय किशोरीलाई नजिकैको उखुबारीमा लगेर बलात्कार गरेको आरोपमा नौ जना पक्राउ परेका छन् ।
एक सहकर्मी युवकसँग मोटरसाइकलमा कार्यालय जाने क्रममा आइतबार बिहान ९ बजे घटना भएको थियो । मोटरसाइकल रोकेर युवक फोनमा कुरा गरिरहेका वेला सो समूहले नियन्त्रणमा लिएर कुटपिट गरेको र किशोरीलाई नजिकै उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घटनाको एक घन्टापछि पीडित इलाका प्रहरी कार्यालय बेलटारी पुगेका थिए । उजुरीलगत्तै पीडित किशोरीलाई अस्पताल लगेर प्रहरी अभियुक्तहरूको खोजीमा लागेको थियो ।
घटनामा संलग्न ९ जनालाई प्रहरीले पक्राउ परिसकेका छन् भने एक जना अझै फरार रहेको प्रहरीको भनाई छ । घटनास्थल भित्री सडकखण्डको एकान्तमा रहेका छ ।
बलात्कारमा संलग्नहरू १९ देखि ४० वर्षसम्मका रहेका छन् । १९ वर्षका अमरनाथ भेडियार र पिन्टु राजभर, २२ वर्षका सन्दीप यादव, शिवराज राजभर र राजु भेसहर तथा २५ वर्षीय मनमोहन राजभर, ३२ वर्षीय सुरेन्द्र यादव, ३७ वर्षीय भीमललवा मुसहर र ४० वर्षीय नेत्र चौधरी पक्राउ परेका हुन् । उनीहरू सबै सुस्ता–३ कै भएको प्रहरीले जनाएको छ । तर, पीडितहरूसँग उनीहरूको चिनजान नभएकोसमेत प्रहरी बताउँछ । उनीहरूलाई जबर्जस्ती करणी मुद्दामा सोमबार अदालतबाट म्याद थपेर हिरासतमा राखिएको नवलपरासीका प्रहरी प्रमुख एसपी लालमणि आचार्यले बताए ।
मुलुकी अपराध संहिताको परिच्छेद १८ को दफा २९९ को उपदफा (७) अनुसार सामूहिक बलात्कार मुद्दामा १५ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । १८ वर्षभन्दा माथिका युवतीमाथि हुने बलात्कारमा १० वर्ष कैद र सामूहिक बलात्कार भए थप ५ वर्ष कैद सजाय हुने व्यवस्था छ । सोही सजाय माग दाबी गरी मुद्दा चलाउने प्रहरीको भनाई छ ।













