अटवारी पर्व धुमधामका साथ मनाउँदै, सुदूरपश्चिम र प्रदेश नं. ५ मा सार्वजनिक विदा
धनगढी, १५ भदौं । थारु समुदायले परपुर्वकालदेखि मनाउदै आईरहेको अटवारी पर्व धुमधामका साथ मनाईरहेका छन् ।
अटवारी पर्व मनाउनकोलागि सुदूरपश्चिम प्रदेश र प्रदेश नं. ५ मा सार्वजनिक विदा दिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले महत्वपूर्ण पर्वहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको साउन ८ गतेको निर्णयानुसार भाद्र १५ गते पर्ने थारु समुदायको मौलिक पर्व अँट्वारी मा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गत वर्ष अँट्वारी पर्वमा प्रदेश सरकारले सार्वजनिक विदा नदिएको भन्दै थारु संम्वद्ध संघसंस्थाले विरोध समेत जनाएका थिए । यसका साथै अँट्वारी पर्व लगायत थारु समुदायले मनाउने अन्य पर्वमा सार्वजनिक विदा माग गर्दै थारु कल्याणकारिणी सभा, थारु नागरिक समाज लगायत थारु सम्वद्ध संघसंस्थाहरुको अगुवाईमा कानुनमन्त्री प्रकाश बहादुर शाह समक्ष ज्ञापनपत्र समेत बुझाएका थिए ।
कैलाली जिल्लाका स्थानीय तहले गत वर्ष थारु बाहुल क्षेत्रमा विदाको घोषणा गरेको थियो । यो वर्ष भने प्रदेश सरकारले नै सार्वजनिक विदाको घोषणा गरेपछि स्थानीय सरकारमा स्वतह विदा भएको छ ।
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी थारुहरुको महान पर्व अटवारीमा खासमा दुई दिन विदा हुनुपर्ने बताए । उनले अटवारी पर्वमा आईतबार दाजु, भाईहरु ब्रत बस्ने र सोमबार दिदी बहिनीहरुलाई अग्रसान (कोशेली) दिन जानुपर्ने भएकोले दुई दिन विदा भएको भए राम्रो हुने बताए ।
यस्तै प्रदेश नं. ५ प्रदेश सरकार मन्त्रीपरिषको बैशाख १२ गतेको बैठको निर्णयले अटवारी पर्वका लागि दाङ, बाँके र बर्दियामा सार्वजनिक विदा दिएको हो ।













