सबै वर्ग समुदायहरुको अधिकार सुनिश्चित गर्न संविधान संशोधन हुनुपर्छ : डा. बाबुराम भट्टराई
टीकापुर, ७ भदौं । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले २०७२ सालमा जारी भएको संविधान पूर्ण रहेको बताउदै सबै वर्ग समुदाय जातजातीहरुको अधिकार सुनिश्चित गर्न संविधान संशोधन हुनुपर्ने बताए ।
कैलालीको टीकापुरमा जारी थरुहटरथारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले अहिलेको संविधान असमावेशी र अन्यायपूर्ण रहेको बताए।
उनले संविधान प्रति असन्तुष्टि जनाउदै भने विभेदका लागि लड्नेहरु सत्तामा पुगे पनि विभेद जारी नै छ । टीकापुर घटनापछि सामाजिक सद्भाव कायम गर्ने भनिए पनि अन्यायमा परेकाहरुले न्याय नपाएको बताए ।

‘सद्भाव कायम हुनुपर्छ तर अन्यायमा परेकाहरुले अब लडेरै अधिकार लिने हो, यहाँका पीडित थारुहरुले आफ्नो हक अधिकार पाउनुपर्छ।’
नयाँ पत्रिका दैनिकको आजको शनिबारीय परिशिष्टांकमा प्रकाशित प्रधानमन्त्री केपी ओलीको संस्मरणप्रति पनि उनले टिप्पणी गरे।
‘आफूले गोलघरमा भोगेको यातनाबारे लेख्ने प्रधानमन्त्रीले उस्तै यातना भोगिरहेका रेशम चौधरीबारे सोच्नुपर्छ कि पर्दैन ?’ उनको प्रश्न थियो।
यस्तै लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले अहिलेको संविधान न्याय संगत नभएको भन्दै अब थारूहरू चेतनशील भइसकेको र यो सिंहदरबारलाई चुनौती भएको बताए।
अर्का वक्ता पत्रकार तथा लेखक किशोर नेपालले भने, ‘जबसम्म रेशम चौधरीको रिहाइ हुँदैन, तबसम्म टीकापुरको घाउ निको हुँदैन।’
सम्मेलनमा कैलाली कञ्चनपुर, बाँके बर्दिया, दांग, देखि पुर्वका झापा, सिरह, सप्तरी, कपिलबस्तु, नवलपरासी लगायतका १० हजार भन्दा बढि थारु नेता तथा अगुवाहरुको सहभागिता रहेको थियो ।













