दिउसो १२ बजे टीकापुर सम्मेलनको उद्घाटन, शान्ति सुरक्षाकोलागि सुरक्षाकर्मीको बाक्लो उपस्थिति

धनगढी, ७ भदौ । कैलालीको टीकापुरमा हुन गईरहेको थरुहट/थारुवान राष्ट्रिय सम्मेलनको उद्घाटन दिउसो १२ बाजे हुने भएको छ । सामाजिक सद्भाव कायम गर्नका लागि तीन दिने सम्मेलन गर्न लागएिको हो ।

२०७२ को टीकापुर घटनापछि बिग्रिएको दुई समुदायबीचको सामाजिक सम्बन्ध कायम गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको हो । टीकापुरको सिटी हल परिसरमा सम्मेलनको भव्य उद्घाटन गर्ने तयारी भईरहेको छ । सम्मेलनमा भाग लिनका लागि देशैभरिबाट थारु समुदायका जिल्ला प्रतिनिधि, सामाजिक सद्भावको सवालमा वकालत गर्ने व्यक्तित्व, राजनीतिक दलका नेता लगायतको उपस्थिति हुँदैछ ।

सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्ला प्रसाशन कार्यालयले शान्तिसुरक्षाकोलागि टीकापुर बजारदखि सिटी हल वरिपरि सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति गराएको छ । हल प्रवेश गर्नु भन्दा पहिला गेटमै सुरक्षाकर्मी र स्वयसेवकहरुले सहभागी सम्पूर्णलाई चेकजाँच पश्चात मात्रै प्रवेश गर्न अनुरोध गरिरहेका छन् ।

साथै कार्यक्रममा उपस्थित सहभागीहरु रक्त दान समेत गरिरहेका छन् । रक्तदान कार्यक्रम विहान ८ बजेदेखि शुरु भएको छ । थरुहट नेता लक्ष्मण थारुले रगत दिएर रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।