शारदा माविमा खानेपानी योजना उद्घाटन

अत्तरिया, ५ भदौं । कैलालीको गोदावरी नगरपालिका–८, श्रीपुरमा अवस्थित शारदा माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानी योजनाको आज उद्घाटन गरिएको छ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले एक कार्यक्रमका बीच उक्त खानेपानीको उद्घाटन गरेकी हुन्।

प्रदेश सभा सदस्य चौधरीले विद्यालयमा खानेपानीको निर्माण पश्चात् विद्यार्थीहरुले खानेपानीको समस्या भोग्नुनपर्ने बताईन्। विद्यालयमा खानेपानीको समस्याका बारेमा जानकारी पाएपछि सुदूरपश्चिम प्रदेश सरकार मार्फत बजेट छुट्याएर खानेपानीको निर्माण गरेको उनले बताईन्।

साथै चौधरीले आफू गाउँघरको समस्या नजिकबाट बुझेकोले गाउँघरको शिक्षा, स्वास्थ्य लगायत विकास निर्माणमा कुनै कसर बाँकी नराख्ने समेत आश्वासन व्यक्त गरिन्। गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले विद्यालयमा निर्माण गरिएको खानेपानीेको दिगो संरक्षणमा ध्यान दिनु पर्नेमा जोड दिइन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय सिहं ऐरीले प्रदेश सरकारको योजना अन्तरगत ११ लाख ३ हजारको लागतमा खानेपानीको योजना सम्पन्न गरेको जानकारी दिए।

खानेपानी योजना अन्तरगत डिप बोरिङ मार्फत पानी निकालेर ५ हजार लिटर क्षमताका २ ओटा स्टिलको ट्यांकी र २ सय ५० लिटर क्षमताको २ ओटा ट्यांकी राखिएको अध्यक्ष ऐरीले बताए।

विद्यालयका प्रधानध्यापक भोज राज जोशीले खानेपानी नहुदा विद्यालयले झेल्दै आएको समस्या हटेको बताउँदै खानेपानी नहुँदा हाते पम्पको पानी पिउनु पर्ने बाध्यता हट्ने बताए।