कटैनी नदीमा झोलुङ्गे पुल बनेपछि स्थानीय खुशी
धनगढी, १ भदौं । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८ स्थित कटैनी नदीमा पुल बनेपछि स्थानीय खुशी भएका छन् ।
पुल निर्माणसंगै वर्षदिनदेखि भोग्दै आएको दुःख हटेको उनीहरुले बताएका छन् । नदीमा पुल नहुँदा स्थानीयले धेरै समस्या भोग्दै आएका थिए । झोलुङ्गे पुल बनेपछि निकै खुशी लागेको स्थानीय सीताराम चौधरीले बताए । ‘अब गाउँघरवासी हामीलाई ओहोरदोहोरमा सहज भएको छ’, उनले भने ।
पुल नहुँदा बर्खा याममा अत्यधिक समस्या हुने गरेको थियो । उनीहरु ज्यान जोखिममा पारेर खोला तर्ने गरेका थिए । यसैगरी ठूलो बाढी आउँदा ओहोरदोहोरका लागि उजलीसेमरा पुग्ने गरेका थिए । उक्त झोलुङ्गे पुलले पूर्व टेंढी र लोहरपुर गाउँलाई जोडेको छ ।
यसैबीच, नवनिर्मित झोलुङ्गे पुलको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले आइतबार उद्घाटन गरेका छन् । एक कार्यक्रमकोबीच उनले झोलुङ्गे पुलको उद्घाटन गरेका हुन । सो अवसरमा बोल्दै अध्यक्ष चौधरीले झोलुङ्गे पुल निर्माणले जनतालाई आवतजावतमा सहज भएको बताए । उनले गाउँपालिकाको अन्य ठाउँमासमेत झोलुङ्गे पुल निर्माण भइरहेको जनाउँदै जनताको समस्या समाधान गर्न र विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरे । ‘हामी क्रमैसंग विकास र जनताको समस्या समाधान गर्दै जानेछौं’, चौधरीले भने ।
गाउँपालिकाको ५२ लाख २५ हजार रुपैयाँ लागत र स्थानीय समुदायको जनश्रमदानबाट झोलुङ्गे पुलको निर्माण गरिएको हो । उक्त पुलको निर्माण कार्य २०७५ जेठ १ गतेबाट सुरु गरिएको थियो । पुल उद्घाटन कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष दुखीराम कठरिया, वडा सदस्य, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।













