थारु समुदायको अँट्वारी पर्वमा प्रदेश सरकारद्वारा विदा दिने निर्णय

कैलाली, २४ सावन । सुदूरपश्चिम प्रदेश सरकारले सबै जातजातीहरुको पर्वलाई मध्येनजर गर्दै महत्वपूर्ण पर्वहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको साउन ८ गतेको निर्णयानुसार यहि साउन ३० गते पर्ने रक्षा बन्धन, भाद्र १५ गते पर्ने थारु समुदायको मौलिक पर्व अँट्वारी, पौष १० गते पर्ने भुँवा पर्व र माघ १ गते माघे संक्रान्ति पर्वहरुमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

यसै बिच सार्वजनिक विदाबारे जानकारी सम्बन्धमा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले साउन २२ गते धनगढी उपमहानगरपालिका कार्यालयलाई पत्र पठाएको छ ।

गत वर्ष अँट्वारी पर्वमा प्रदेश सरकारले सार्वजनिक विदा नदिएको भन्दै थारु संम्वद्ध संघसंस्थाले विरोध जनाएका थिए । यसका साथै अँट्वारी पर्व लगायत थारु समुदायले मनाउने अन्य पर्वमा सार्वजनिक विदा माग गर्दै थारु कल्याणकारिणी सभा, थारु नागरिक समाज लगायत थारु सम्वद्ध संघसंस्थाहरुको अगुवाईमा कानुनमन्त्री प्रकाश बहादुर शाह समक्ष ज्ञापनपत्र समेत बुझाएका थिए ।