धनगढीमा कपडा बैंक, अनाथ तथा गरिबलाई सित्तैमा
धनगढी, १२ साउन । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा कपडा बैंक सञ्चालन हुने भएको छ । धनगढीका व्यवसायीहरु गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालको सयूक्त लगानीमा कपडा बैंक सञ्चालन गर्ने भएका छन् ।
सञ्चालक कर्ताहरुले १५ लाख लगानीमा कपडा बैंक सञ्चालन गर्न लागेको गोपाल हमालले जानकारी दिए । उनले मंसिरदेखि बैंकको भवन निर्माण कार्य सुरु गरिएको बताउदै हाल सो भवनको निर्माण कार्य सम्पन्न भईसकेको जानकारी दिए ।
कपडा बैंकमा लगाउन मिल्ने पुराना कपडा, शिरक, डसना, तन्ना, जुत्ताचप्पल, भाँडा लगायतका मानव जिवनमा प्रयोगमा आउने सामान संकलन कार्य शुरु गरिएको बताए । बैंकले अनाथ तथा गरिब व्यक्तिलाई सो सामान सित्तैमा उपलब्ध गराउने बताए ।
जो कोहीले पनि कपडा लगायतका सामान ल्याएर दिनसक्ने भएकाले बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसम अनुसार कपडा उपलब्ध गराउन मद्दत पुग्ने बताए ।
‘एउटै लुगा वर्षौंसम्म वा धेरै पटक नलगाउने धेरै मान्छे छन्, नच्यातिएका र लगाउन मिल्ने लुगा त्यस्तै फालिएका हुन्छन्,’ हमालले भने, ‘हामीले त्यसैलाई व्यवस्थापन गरेर असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई वितरण गर्ने सोच बनाएका हौं।’ बाढी, पहिरो, आगलागी पीडितलाई पनि यस्तो सहयोग प्रभावकारी हुने बताए ।













