निर्मला हत्याकाण्डको वर्ष, पत्ता लागेन हत्यारा

धनगढी, १० साउन । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुरा भएको छ । यसबीचमा दर्जनभन्दा बढी टोलीबाट घटनाको अनुसन्धानका साथै ४ वटा प्रतिवेदन सार्वजनिक गरियो तर हत्यारा अझै रहस्यको गर्भमै छ । अनेकौँ दबाब दिँदा पनि दोषी पत्ता नलागेपछि पीडित परिवार भने घटनालाई भुल्ने प्रयास गरिरहेको छ । गत वर्ष साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुरा भएको छ ।

गत वर्ष साउन ११ गते घर नजिकैको उखुबारीमा उनको शव फेला परेको थियो । उक्त घटना देशव्यापी रुपमा चर्चा र चासोको विषय बन्यो । आन्दोलनकै क्रममा कञ्चनपुरका शनि खुनाको ज्यान गयो भने एक दर्जन बढी घाइते भए । घाइतेमध्ये अर्जुन भण्डारीको अवस्था अहिले पनि चिन्ताजनक छ । लामो समय बितिसक्दासम्म अपराधी पहिचान गर्न नसकेपछि निर्मलाको न्यायका लागि गरिएका दबाबमूलक कार्यक्रम पनि सेलाएका छन ।

निर्मलाकी आमा दुर्गादेवी बाँकी दुईटी छोरीको भविष्य हेर्दै राहत रकम बुझेर आफ्नो दैनिक कामकाजमा फर्किएकी छन । उनी अहिले भीमदत्त नगरपालिकाको महिला शाखामा कार्यालय सहयोगीका रुपमा दैनिक चार सय रुपैयाँका दरले डोरहाजिरमा काम गरिरहेकी छन । घटनास्थलको मुचुल्का नउठाएर एउटा गल्ती गरेको प्रहरीले अनुसन्धानका क्रममा हल्लाको पछाडि लाग्दा अपराधी पत्ता नलागेको उहाको भनाइ छ ।

निर्मलाको न्यायका लागि आन्दोलनमा लागेका छिमेकीको तर्क भने बेग्लै छ । दुर्गादेवी नै प्रमाण नष्ट गर्ने प्रहरीको बचाउमा लागेका कारण हत्यारा उम्किएको उनीहरु दाबी गर्छन । तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीको बचाउमा दुर्गादेवीले आफैले दिएको उजुरी तीन महिनापछि फिर्ता लिएपछि छिमेकी असन्तुष्ट बनेका थिए ।

निर्मला हराएको दिनदेखि सहयोग गरिरहेका छिमेकीले अहिले प्रहरीसँग मिलेर दुर्गादेवीले छोरीको हत्यारालाई बचाउ गरेको आरोप लगाउन थालेका छन । अपराधी पत्ता लगाई कारबाहीको दायरामा ल्याउन मागसहित यहाँ गरिएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाउन गत भदौ ८ गते भीमदत्तनगरपालिका–१८ सालघारीका १३ बर्षीय सनी खुनाको मृत्यु भएको थियो ।

सनीकी सौतेनी आमा मञ्जुदेवी खुनाले छोराको शालिक र निर्मलाको परीवारले न्याए पाएको हेर्ने चाहना बर्षदिनमा पनि पुरा नभएको गुनासो पोखीन । लामो समयदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रहरी प्रधान कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालयको टोली अनुसन्धानमा खटिएपनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन ।

बालिका हत्या प्रकरणमा सफलता मिल्नेमा भने प्रहरी आशावादी नै छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला प्रकरणको गहन रुपमा अनुसन्धान भइरहेको कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यले बताए । विगतका अनुसन्धानलाई पनि परीक्षण गर्दै थप अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

अहिले सम्म प्रहरीले ५०÷६० जनाको डीएनए परीक्षण भइसकेको जनाएको छ । अनुसन्धानका क्रममा ६ सय बढी व्यक्तिलाई प्रहरीले सोधपुछ गरीसकेको छ । अनुुसन्धानका क्रममा स्थानीय दीलिपसिंह विष्टलाई अभियुक्तका रुपमा पक्राउ गरियो र पछि डीएनए परीक्षण नमिलेपछि उनी छुटे ।

घटनाको एक वर्षसम्म सिआइबिका ४ टोलीसहित एक दर्जन टोलीको अनुसन्धान र ४ वटा प्रतिवेदनबाट पनि दोषी किटान हुन सकेको छैन । पश्चिम टुडेबाट