आज कमैया मुक्ति दिवस, १९औं वर्ष सम्मापनि समस्या उस्तै
धनगढी, २ साउन । सरकारले कमैयाहरुलाई दास प्रथाबाट मुक्त गरिएको दिन साउन २ गते मुक्त कमैयाहरु विभिन्न कार्यक्रम गरि मुक्ति दिवस मनाउँदै छन् ।
तत्कालिन सरकारले २०५७ साउन २ गते कमैयालाई मालिकको घरबाट मुक्त घोषणा गरेको थियो । घोषणा पश्चात मुक्त कमैयाहरुलाई पुनस्थापना गर्ने सम्झौता समेत भएको थियो ।
तर सरकारले मुक्त घोषणा गरेको १९ वर्ष सम्मपनि कैलाली, कञ्चनपु, बाँके बर्दिया र दाङमा अझै पुनःस्थापनाकोकाम सम्पन्न भएको छैन । उसरी सरकारको तथ्यांकमा थोरै मात्रमा मुक्त कमैयाहरुलाई पुनस्थापना गर्न बाँकी रहेको देखाउछ ।
उता कमैयाहरुको समस्या भने जस्ताको त्यस्तै छ । मुक्त कमैया शिविरमा खानेपानी, स्वास्थ्य, शिक्षा रोजगारीको ठूलो समस्या रहेको मुक्त कमैयाको क्षेत्रमा काम गर्दै आईरहेको संस्था कमैया प्रथा उन्मूलन समाजका अध्यक्ष बसन्ती चौधरी बताउछन् ।
उनले नेपाल सरकारले २०५७ साउन २ गतेका दिन कमैयाहरुलाई मुक्ति घोषणा गर्दा कैलाली जिल्लामा जम्मा ८ हजार ९ सय १० जनालाई परिचय पत्र दिएर पुनस्थापना गर्ने भनि सरकारले सम्झौता गरेको बताईन् । तर हाल सम्मा ८ हजार ३ सय ७३ जनाले मात्रै जग्गा प्राप्त गरि पुनस्थापना भएको जानकारी दिईन ।
कैलाली जिल्लामा अझैपनि ३ सय ५४ जनालाई जग्गा दिएर पुनस्थापना गर्नुपर्ने र भूमिसुधार कार्यालयको तथ्यांक अनुसार सट्टा भर्नागर्नुपर्ने जम्मा कमैयाको संख्या ४ सय ४० जना र १ सय ७३ जनाको लागत कट्ट भएको तथ्यांक छ ।
नेपाल सरकारले मुक्त कमैयाहरुलाई ३५ क्यू फीट काठ र घर निर्माण सहयोगको बाफत नगद रु दश हजार उपलब्ध गराउने नीति अन्तर्गत (क) र (ख) वर्गका मुक्त कमैयाहरुलाई उपलब्ध गराउने भनिएपनि हाल सम्म घर निर्माण बाफत सहयोग पाउनेको तुलनामा काठ प्राप्त गर्नेको संख्या एकदमै न्यून रहेको देखिन्छ ।














