मोहना नदीमा माछाको सिकार

धनगढी, २८ असार । कैलालीस्थित मोहना नदीमा ठूला माछाको सिकार हुन थालेको छ । वर्षासंगै नदीमा पानी बढेपछि नेपाली र छिमेकी राष्ट्र भारतका स्थानीयले माछाको सिकार गर्न थालेका हुन ।

डल्फिन देखिने उक्त नदीमा अहिले ठूलठूला माछा आइरहेको जनाइएको छ । स्थानीयले जाल र बटावमार्फत ठूला रोहु, गोछ ९ठेढ० माछा मार्ने कार्य गरिरहेको भारतीय गाउँ बेलापरसुवाका लल्लन कठरियाले जानकारी दिए । उनले भजनी नगरपालिकाको हिम्मतपुर घाटमा १९ किलो, १५ किलोको सम्मको रोहु माछा मारिएको बताए ।

नदीमा पानी बढ्न थालेपछि ठूला माछा तलबाट नदीको माथितिर बढी आउने गर्दछन् । त्यहि बेला स्थानीयले ठूल–ठूला माछा मार्ने गरेको जनाइएको छ ।

मोहना नदीमा स्थानीयलाई माछा मार्नमा रोक लगाइएको छैन । तर, जथाभावी माछा मार्दा विश्वमै दुर्लभ गङ्गेटिक डल्फिनलाई असर पुग्ने गरेको संरक्षणकर्मीहरु बताउँछन् । माछा डल्फिनको आहारा हो । महाजाल हालेर मोहनामा माछा मार्दा डल्फिनलाई असर भइरहेको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए ।

‘मोहना नदीमा महाजाल हालेर माछा मार्ने गरेको अझै पनि देखिन्छ’, उनले भने–‘भारतको चन्दन चौकी र तिकुनियाँबाट आएका सिकारीले महाजाल हालेर माछा मार्ने गरेको पाइएको छ ।’ पश्चिम टुडेबाट