कैलालीका दुई पर्यटकीय क्षेत्रको गुरूयोजना तयार
धनगढी, २६ असार । कैलालीमा दुईवटा पर्यटकीय क्षेत्रको गुरु योजना तयार भएको छ । धनगढी उपमहानगरपालिका–४ मा रहेको शिवपुरी धाम वालउद्यान र विश्व रामसार सुचीमा सूचीकृत घोडाघोडी तालको प्रवेशद्धार क्षेत्रको गुरूयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सार्वजनिक गरिएको हो ।
घोडाघोडी नगरपालिका अन्तर्गतको बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले गुरूयोजना अनुसार तत्काल निर्माण कार्य अगाडी बढाइने जनाइएको छ ।
बोर्डका उपाध्यक्ष दयाराम चौधरीका अनुुसार पूर्व–पश्चिम महेन्द्र राजमार्ग संग जोडिएको तालको प्रवेश क्षेत्रमा पानी निकास गेट, पार्क, ताल अवलोकन स्थल, काठे पूल, पानी फोहरा, विश्राम स्थलसहितका संरचना निर्माण गरिने भएको छ ।

गुरूयोजना अनुुसारको संरचना निर्माणमा २ वर्ष लाग्ने बताउँदै बोर्डका उपाध्यक्ष चौधरीले जसको एक करोड ९० लाख लागत अनुुमान गरिएको जनाए ।
तालको संरक्षण, सम्वद्र्धन तथा पर्यापर्यटन गन्तव्यको रुपमा विकास गर्न नगरपालिकाले जर्मन सहयोग नियोग (जिआइजेड) को सहयोगमा १० वर्षे गुरूयोजना निर्माण प्रक्रिया बढाएको हो । घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले तालको संरक्षण र सम्वद्र्धन गरी पर्यटन विकासको लागि गुरूयोजना कोसेढुंगा सावित हुने बताए ।
त्यसै गरि शिवपुरी धामलाई पर्यटन गन्तव्य बनाउन शिवपुरी धाम वालउद्यानको गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको छ ।

ड्रिम प्लानर ईन्जीनियरिङ्ग सर्भिसेज अत्तरिया कैलालीले गत जेठ महिना देखि स्थलगत अध्ययन/अनुगमन गरी गुरुयोजना बनाएको थियो ।
गुरु योजनामा पाकिंङ्ग स्थल, स्वीमिङ पुल, चिल्ड्रेन पार्क लगायतका बालमैत्री संरचनाहरु रहेको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए ।
मन्दिर क्षेत्रको गुरु योजना यस अघि नै निर्माण भैसकेको छ । बाल उद्यान निर्माणका लागि भ्याटबाहेक १३ करोड ४८ लाख चार ३५ हजार बजेट आवश्यक हुने कन्सल्टेन्सीका ईन्जीनियर लोकराज भट्टले बताए । यसको क्षेत्रफल १ सय ४७ रोपनी रहने छ ।













