ग्रामीण बस्तीमा शुद्ध खानेपानीको चर्को समस्या

-खानेपानीमा आर्सेनिक र कोलिफार्म
-स्थानीय तहलाई व्यवस्थापन गर्न कठिनाई
-गरिब वस्तीका बासिन्दा असुरक्षित खानेपानी प्रयोग गर्न बाध्य

राम दहित, धनगढी । कैलालीको अधिकांश ग्रामीण बस्तीमा शुद्ध खानेपानीको समस्या रहेको छ । खासगरी जिल्लाको कैलारी तथा जोशीपुर गाउँपालिकाका अधिकांस वस्तीमा सुरक्षित खानेपानीको समस्या देखिएको छ । कैलारी गाउँपालिकाको वडा नम्बर ४ के गाउँ, वडा नम्बर ५ को बन्दरगौह्री, वडा नम्बर ७ को विपतपुर र मिलनपुर मुक्त कमैया वस्तीमा सुद्ध खानेपानीको बढी समस्या देखापरेको छ ।

सुख्खा डाँडामा बस्ती रहेकोले त्यो क्षेत्रमा खानेपानीको समस्या देखिएको कैलारी गाउँपालिकाका खानेपानी तथा सरसफाई शाखा प्रमुख तर्कराज जोशीले बताए ।

खानेपानी तथा सरसफाई शाखा प्रमुख जोशीका अनुसार जमिनमा डेढसय देखि दुईसय फिट गहिरो खन्दासमेत पानी आउ“दैन । त्यसैले स्थानीयहरूले प्रायः ३० देखि ४० फिट गहिरो साधारण नल्काको पानी प्रयोग गरिरहेका छन् । यो पानीमा आर्सेनिक तथा कोलिफार्मको मात्रा अधिक रहेको छ ।

“यी बस्तीमा डेढ, दुई सय फिट गहिरो नल्का खन्दा समेत पानी आउँदैंन’ शाखा प्रमुख जोशीले भने– खानेपानीको अन्य स्रोत नभएका कारण स्थानीयले आर्सेनिक र कोलिफार्मयुक्त पानी नै प्रयोग गर्नुपर्ने बाध्यता छ । उनका अनुसार अज्ञानताबश पनि स्थानीयले असुरक्षित खानेपानी सेवन गरिरहेका छन् । उनी भन्छन्– उपभोक्ताहरूले आफ्नो नल्काको सरसफाईमा पनि खासै ध्यान दिने गरेका छैनन् ।

पानीमा आर्सेनिक र कोलिफार्म

कैलारी गाउँपालिका वडा नम्बर ५ बन्दरगौह्री गाउँका स्थानीयले प्रयोग गर्ने नल्काको पानीमा बढी मात्रामा आर्सेनिक र कोलिफार्म (ब्याक्टेरिया) देखिएको छ । स्थानीयले प्रयोग गर्ने खानेपानीको नल्का प्रायः ३० देखि ४० फिट गहिरो मात्रै रहेकोले आर्सेनिक र कोलिफार्मको मात्रा बढी हुने गरेको देखिन्छ । खानेपानी तथा सरसफाई शाखा प्रमुख जोशीका अनुसार गाउँका १८ वटा नल्काको पानी चेकजाँच गर्दा धेरैमा आर्सेनिक र कोलिफार्म भेटिएको छ ।

पानीजन्य रोगबाट ग्रसित

फोहर पानी प्रयोग गर्दा यहाँका अधिकांश व्यक्तिहरू पानीजन्य विभिन्न रोगबाट ग्रसित रहेका छन् । कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र महराका अनुसार यहाँका बासिन्दामा झाडापखाला, आउ, हैजा, टाइफाइड, जण्डिस तथा पत्थरी लगायत रोग देखापर्ने गरेको छ । स्वास्थ्य संस्थामा चेकजाँचका लागि आउने अधिकांश विरामीमा ती समस्या देखिने गरेको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

एक घर, एक उच्च नल्का

कैलारी गाउँपालिकामा अझै पनि ३० प्रतिशत उपभोक्ता शुद्ध खानेपानी प्रयोग गर्नबाट वञ्चित रहेको तथ्यांकले देखाएको छ । गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष कमलप्रसाद चौधरी एकदुई वर्षभित्रै सबै गाउँटोलमा शुद्ध खानेपानी पु¥याउने लक्ष्य रहेको बताए ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेट नीति तथा कार्यक्रममा “एक घर एक उच्च नल्का” कार्यक्रम समावेश गरेको छ । यसको लागि गाउँपालिकाले १० लाख रुपैया बजेट पनि विनियोजन गरेको प्रवक्ता चौधरीले बताए ।

“हाम्रो लक्ष्य एकदुई वर्षभित्रै सबै गाउँटोलमा शुद्ध खानेपानी पु¥याउने रहेको छ’ प्रवक्ता कमलप्रसादले भने– त्यसको लागि गाउँपालिकाले विभिन्न संघसंस्थाको साझेदारीमा सबै घरमा एक उच्च नल्का वितरण गर्ने कार्यक्रम लागू गरेको छ ।

चालु आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिका र नवजीवन सेवा संघ नामक गैरसकारी संस्थाको साझेदारीमा ९ वटै वडामा दुईसय बढी उच्च नल्का वितरण गरिएको खानेपानी तथा सरसफाई संयोजक जोशीले बताए ।

ट्यांकी छ, पानी छैन

कैलारी गाउँपालिकाका विभिन्न वडामा छ वटा खानेपानी आयोजना निर्माणको कार्य भइरहेको छ । तीमध्ये हसुलिया, गदरिया, रतनपुर, रामपुर, बसौटी र उदासीपुर खानेपानी आयोजनाको ट्यांकी लगायतको निर्माण कार्य पुरा भइसकेको छ । पाइप बिछ्याउने लगायत अन्य काम भने अझै बाँकी रहेका छन् ।

गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले समयमै आयोजना निर्माण कार्य पुरा गर्नका लागि खानेपानी उपभोक्ता समितिहरूलाई बारम्बार ताकेता गरेको बताए । उनले भने– तर, संघीय सरकारको बजेट र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलाली अन्तर्गतका योजना भएकोले आवश्यक बजेट नभएर आयोजनाको निर्माण कार्य लम्बि“दै गएको छ । उनले गदरिया र हसुलिया खानेपानी आयोजना भने यसै आर्थिक वर्षभित्र पुरा हुने आशा व्यक्त गरे ।

गाउँपालिका भित्र निर्माणाधीन सबै खानेपानी आयोजना सञ्चालनमा आएमा साधारण नल्का तथा आर्सेनिकयुक्त पानीको प्रयोग कम हुने उनले विश्वास लिएका छन् ।

कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ मा सबै घरधुरीको नल्का चेकजाँच गर्ने अभियान चलाउने जनाएको छ । ‘आगामी आर्थिक वर्ष सबै घरधुरीको नल्काको पानी चेकजाँचको अभियान नै चलाउने योजना छ’ अध्यक्ष लाजुरामले भने– यसले पानीको गुणस्तर थाहा हुनेछ र उपभोक्तामा पनि स्वास्थ्यप्रति जागरुकता बृद्धि हुने छ ।

खानेपानीको गुणस्तर परीक्षणसंगै पानीको गुणस्तर अनुसार नल्कामा स्टीकर टाँस गर्ने योजना समेत गाउँपालिकाको रहेको छ । ‘नल्काको पानी चेकजाँचसंगै पानीको गुणस्तर अनुसार स्टिकर टाँस्ने योजना पनि रहेको छ’ अध्यक्ष लाजुरामले भने– यसले उपभोक्ताले कुन नल्काको पानी खान उपयुक्त र कुन नल्काको पानी खान योग्य छैन भन्ने थाहा पाउने छन् ।

जोशीपुरको सबै बस्तीमा आर्सेनिकयुक्त पानी

कैलालीको अर्को गाउ“पालिका जोशीपुरका प्रायः सबै वडाको खानेपानीमा अत्यधिक मात्रामा आर्सेनिक मिसिएको पाइएको छ । जोशीपुर गाउँपालिकाको खानेपानी तथा सरसफाई शाखा प्रमुख प्रेम चौधरीका अनुसार गाउँपालिकाका सबै वडाको ह्याण्डपम्पको पानी परीक्षण गर्दा अधिक मात्रामा आर्सेनिक देखिएको छ । शाखा प्रमुख प्रेमका अनुसार गाउँपालिकाका १२÷१३ प्रतिशत उपभोक्ताले मात्रै सुद्ध खानेपानी उपयोग गरिरहेका छन् ।

चालु आर्थिक वर्ष २०७५/०७६ मा जोशीपुर गाउँपालिकाले खानेपानीका लागि १० लाख रुपैया बजेट विनियोजन गरेको थियो । तर आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि भने पाँच लाख रुपैया बजेट मात्र विनियोजन गरेको खानेपानी तथा सरसफाई शाखा प्रमुख प्रेमले बताए । उनले ३६ हजार जनसंख्या रहेको गाउँपालिका भित्र खानेपानीका लागि विनियोजित बजेट निकै कम रहेको बताए ।

गाउँपालिकाको वडा नम्बर ३ रामनगर मुक्त कमैया बस्तीमा सुद्ध खानेपानीको चर्को समस्या रहेको पाइएको छ । बस्तीमा जमिनमुनीको पानीको मूल सुकेको र साधारण नल्काको पानीमा अत्यधिक मात्रामा आर्सेनिक देखिएको प्राविधिकहरूको कथन छ ।

सुख्खा डाँडामा मुक्तकमैया बस्तीको बसोबास रहेकोले खानेपानीको बढी समस्या देखिएको गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरी बताए । अध्यक्ष रामकृष्णले गाउँपालिकाको अन्य वडामा पनि आर्सेनिक देखिएकोले खानेपानी ट्यांकी निर्माणका लागि भौतिक निर्माण तथा पुर्वाधार मन्त्रालय मार्फत पहल गरिएको जानकारी दिए । बस्तीमा एक सय ७० फिट गहिरो नल्का खन्दा समेत पानी नआउने र आए पनि आर्सेनिकयुक्त पानी आउने समस्या रहेको उनले बताए ।

अध्यक्ष रामकृष्णले खानेपानीको समस्यालाई दृष्टिगत गरी चालू आर्थिक वर्षभित्र रामनगर बस्ती लगायत अन्य बस्तीमा डिप बोरिङ उपलब्ध गराउने बताए । उनले खानेपानीको शुद्धताका लागि गाउँपालिकाका अतिगरिब घरधुरीलाई फिल्टर उपलब्ध गराउने योजना रहेको बताए ।

पत्थरी र छाला सम्बन्धी समस्या

सुरक्षित खानेपानीको अभावले जोशीपुर गाउँपालिकाका प्रायः ग्रामीण वस्तीका बासिन्दामा पत्थरी र छाला सम्बन्धी समस्या बढी देखिने गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुश्मीले बताए । स्वास्थ्य शाखा प्रमुख कुश्मीका अनुसार स्वास्थ्य चेकजाँचका लागि स्वास्थ्य संस्था आउने विरामीहरूमा पत्थरी, जण्डिस तथा छाला सम्बन्धी समस्या देखिने गरेको छ ।

असारभित्र शुद्ध खानेपानी

जोशीपुर गाउँपालिकाले यही असार मसान्तभित्र गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा सुद्ध खानेपानी पु¥याउने जनाएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीको आयोजना अन्तर्गत गाउँपालिकाका पाँच ठाउँमा खानेपानी आयोजना निर्माण भईरहेको छ । वडा नम्बर १ जोशीपुर बजार, राजीपुर, बडहरिया तथा वडा नम्बर २ को मुद्धि र वडा नम्बर ३ को मनिकापुरमा खानेपानी योजना सञ्चालनमा ल्याउने खानेपानी तथा सरसफाई शाखा प्रमुख प्रेमले बताए । उनका अनुसार असार २७ गते जोशीपुर बजार क्षेत्रका लागि निर्माण भएको खानेपानी ट्यांकीको उद्घाटन गरिने कार्यक्रम रहेको बताए ।

९८.४८ प्रतिशत खानेपानीबाट लाभान्वित

जिल्लाको कैलारी र जोशीपुर गाउँपालिका लगायत अन्य स्थानीय तहको ग्रामीण बस्तीमा शुद्ध खानेपानीको समस्या भयवाह रुपमा देखिएको छ । तर खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढी कैलालीको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन अनुसार ९८.४८ प्रतिशत जनसंख्या खानेपानीबाट लाभान्वित तथ्यांक रहेको छ । २०६८ सालको जनगणना अनुसार कैलालीको कुल जनसंख्या सात लाख, ७५ हजार सात सय नौ रहेको छ ।