महिलालाई आत्म निर्भर बनाउन ड्राईभिङ्ग तालिम

धनगढी, १९ असार । धनगढी उप–महानगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन लागि ड्राईभिङ्ग तालिम दिएको छ ।

तालिममा बिपन्न तथा सिमान्तकृत समुदायका महिलाहरुलाई सहभागिता गराईएको थियो । एक महिना सम्म संचालन गरिएको निःशुल्क ड्राईभिङ्ग तालिम बुधवार धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले समापन गरे ।

तालिम लिएकाहरु सवारी चलाउन सक्ने भएका छन् । तालिममा ३० जना महिलाहरु सहभागि भएका थिए ।

महिलाले पनि पुरुष सरह सवारी चालक भएर काम गर्न सक्ने सहास दिलाउन सो तालिमको आयोजना गरेको नगरप्रमुख वडले बताए ।

उनले बेरोजगार महिलाहरुलाई सवारी चालकमा सक्रिय बनाई संख्यामा पनि बृद्धि गर्ने उदेश्य रहेको बताए । महिलाहरु ईमान्दार र मदिरा जन्य चिजको सेवन नगर्ने भएकाले उनीहरुले चलाएको सवारी सुरक्षित हुने विश्वास रहेको बताए ।

वडा नं. ८ का अध्यक्ष नारायण प्रशाद बरालले आगामी आर्थिक बर्षमा पनि महिलाहरुलाई आत्मनिर्भर बनाउने किसिमका तालिम संचालन गरिने बताए । धनगढी उप–महानगरपालिकाको सहयोगमा शिवशक्ती ड्राईभिङ्ग सेन्टरले तालिम सञ्चालन गरेको थियो ।