जातीय छुवाछुत अन्त्यका लागि के गाउँमा सहभोज
धनगढी, १७ असार । कैलारी गाउँपालिकाको वडा नम्बर ४ स्थित के गाउँमा मंगलबार सहभोज कार्यक्रम गरिएको छ ।
जातीय छुवाछुत अन्त्य गर्ने उद्देश्यले कैलारी गाउँपालिकाको कार्यालयले उक्त कार्यक्रमको आयोजना गरेको हो । वडा नम्बर ४ का अध्यक्ष भीखराम चौधरीको अध्यक्षतामा भएको सहभोज तथा जातीय छुवाछुत अन्त्य विषयक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी प्रमुख र उपाध्यक्ष लक्ष्मी सत्गौंवा विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले समाजमा व्याप्त जातीय छुवाछुतको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न आवश्यक रहेको बताए । उनले कैलारीलाई विभेदरहित गाउँपालिकाका बनाउने लक्ष्य रहेको उल्लेख गरे ।
‘जाति–जातिबीच विभेद रहेसम्म समाज अगाडि बढ्न सक्दैन’, उनले थपे–‘सबै जनाको सहयोगमा विभेदरहित गाउँपालिका बनाउन आवश्यक छ ।’
कार्यक्रममा विशिष्ट अतिथि रहेकी स्थानीय न्यायिक समितिका संयोजक एवम् गाउँपालिकाका उपाध्यक्ष सत्गौंवाले जातीय छुवाछुत दण्डनीय अपराध रहेको बताइन् । उनले छुवाछुत अन्त्य हुनु पर्नेमा जोड दिइन् । कार्यक्रममा राजनीतिक पार्टीको तर्फबाट मिसन बौखही, स्थानीय समाजसेवी तीर्थ नेपाल लगायतले बोल्दै जातीय छुवाछुत अन्त्य हुनु पर्ने बताए ।
दीपक सुनारले स्वागत गरेको कार्यक्रमको सञ्चालन जनक भुलले गरेका थिए । उक्त कार्यक्रममा देउडा लगायतका सांस्कृतिक कार्यक्रम देखाउनुका साथै, दलित र गैरदलित मिलेर एकै ठाउँमा सहभोज खाएका थिए । उनीहरुले जातीय छुवाछुत नगर्ने र त्यस्तो गर्न पनि नदिने सामूहिक रुपमा प्रतिवद्धतासहित हस्ताक्षरसमेत गरेका स्थानीय युवा भीम तिरुवाले जानकारी दिए । कार्यक्रममा वडा अध्यक्षहरु, स्थानीय बुद्धिजिवी, समुदाय लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, कैलारी गाउँपालिकाको कार्यापालिकाको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकका विषयगत समितिले गाउँसभामा पेश गरेको योजना कार्यान्वयनको बारेमा छलफल भएको गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ७ का अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।













