कैलारीको बजेट सर्वसम्मतिले पारित
धनगढी, १६ असार । कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित भएको छ ।
आइतबार बसेको गाउँसभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित गरेको हो । गत असार १० गते गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले नीति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मी सत्गौंवाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ५० करोड ५ लाख १ हजार रुपैयाँ बजेट प्रस्तुत गरेकी थिइन् ।
आइतबारको बैठकमा नौ जना गाउँसभा सदस्यले शून्य समय र १० जना सदस्यले विशेष समय लिएर बोलेका थिए । उनीहरुले गाउँपालिकाको नीति तथा कार्यक्रम राम्रो रहेको बताए । यसैगरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयन हुनु पर्नेमा जोड दिएका छन् ।
यस्तै, किसानलाई मलखाद, कृषि उपकरण समयमा उपलब्ध हुनु पर्ने, वडा सदस्यहरुको सेवासुविधा बढाउनु पर्ने लगायतको जोड दिएका छन् ।
विशेष समयमा विषयगत समितिका संयोजकहरुले आ–आफ्नो धारणा राखेका थिए । न्यायिक समिति संयोजक समेत रहेकी उपाध्यक्ष लक्ष्मी सत्गौंवा, सामाजिक विकास समिति संयोजक भागरथी चौधरी, विधेयक समिति संयोजक राजेश सुनारले बोलेका थिए । यसैगरी, वन वातावरण तथा प्राकृतिक स्रोत समिति संयोजक विष्णुप्रसाद चौधरी, सुशासन विकास समिति संयोजक खेमराज चौधरी, पूर्वाधार विकास समिति संयोजक कमलप्रसाद चौधरी, आर्थिक विकास समिति संयोजक कैलाश चौधरी लगायतले विशेष समयमा बोलेका थिए ।
खास गरेर पूर्वाधार विकास समितितर्फ कल्भर्ट, ग्राभेल लगायत अपुग भएकाले त्यसतर्फ गाउँपालिकाले ध्यान दिनु पर्ने कुरा उठेको जनाइएको छ । शून्य र विशेष समयमा उठेको विषयमा गाउँपालिकाका अध्यक्ष चौधरीले जवाफ दिएका थिए । गाउँसभाको अर्को बैठक सोमबार विहान ८ बजे बोलाइएको छ ।













