बोक्सी कबुल गराउन युवतीलाई यातना दिने माता पक्राउ

ललितपुर । काठमाडौंको भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई बोक्सी कबुल गराउन यातना दिने माता पक्राउ परेकी छन् । मातालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आज बिहान काठमाडौंको बालाजुबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बताए ।

‘धर्तीमाता’को नामले परिचित विष्णु कुँवरले असार ५ गते भद्रकाली मन्दिरमा दर्शन गर्न गएकी युवतीलाई बोक्सी कबुल गराउन शारीरिक र मानसिक यातना दिँदै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । उनले राजधानीकै मुटुमा अवस्थित भद्रकाली मन्दिर परिसरमा सयौं मान्छेको भिड र प्रहरीकै सुरक्षा घेराभित्र युवतीलाई टाउको र गालामा थप्पड हान्दै बोक्सी कबुल गराएको भिडियो सार्वजनिक भएपछि नेपाल प्रहरीको समेत चर्को आलोचना भइरहेको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता पोखरेलका अनुसार उनलाई अहिले महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ ।

बुटवलबाट मठ मन्दिरहरुमा दर्शनका लागि आएकी माताले भिडियोमा युवतीलाई ‘तँ को होस्, छिटो निस्किन्छेस् कि निस्किन्नस्, तेरो मासु खाम्ला, मलाई चिन्’ लगायत शब्द प्रयोग गरेर गालीगलौज र हातपात गरेको देख्न सकिन्छ । महिला खबरबाट सभार