भट्टी पसल
एउटा भट्टी पसल छ
पसलमा
एउटा दुइ/तिहाइको बडेमानको टेबुल छ
टेबुल वरिपरि छन् ब्राण्डेड ग्राहकहरू ।
हरेक साँझ
ब्राण्डेड रक्सीले टेबुल माथि प्रस्ताव राख्छन्
ग्राहकहरू निर्णय गर्छन्
सूर्य उदाउँछ
प्रचण्ड घाम हुन्छ
बादल गर्जिन्छ
चट्याङ लागेर मान्छे ढल्छन्
बिचरा ! केही थान आँखाहरू
गैरन्यायिक हत्या देख्छन्
र, गैरन्यायिक हत्या बन्द गर भन्छन् ।
त्यही टेबुल हो
जसको वरिपरि बसेर ग्राहकहरू
पिउँछन् तिनै ब्राण्डेड रक्सीहरू
जब मात्तिन्छन् तिनका उन्मुक्त नजरहरू
र, देख्छन्
टेबुल वरिपरि
अक्षरहरूको जुलुस
वाक्यांशहरूको सागर
अनि ठान्दछन्
सबैभन्दा ठूलो देशद्रोही यही हो
र गिरफ्तार गर्छन्
बिचरा १ केही थान आत्मले बोल्छन्
निसर्त रिहा गर !
हो, उही एउटै टेबुल हो
जहाँ गिलासहरू रित्तिन्छन् र भरिन्छन्
र, छेउमा राखिन्छन् थरिथरिका परिकारहरू
अनि, ग्राहकहरू खान्छन् निस्फिक्री
चम्चा र काँटाको सहयोगले
सुनका ढिक्काहरू, वाइडबडी
बालुवाटार, दुडिखेल र मेरो माटो
बिचरा १ मेरो निरीह मन भन्छ
दलाल, भ्रष्ट लुटेरालाई कारवाही गर !
यता आफ्नै लयमा चलिरहेछ भट्टी
र टेबुल माथि चलिरहेछन् गिलासमा रक्सी
अनि, थरिथरिका परिकारहरू ।
२०७६ असार १२ गते













