मेयर चौधरीलाई कार्वाहीको माग
धनगढी, ११ असार । ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाला चौधरीले २०७६ असार ५ गते सार्वजनिक कार्यक्रममा महिलाका विषयमा बोलेको आपत्तिजनक शब्दप्रति सुदूरपश्चिम प्रदेशका धनगढी स्थित विभिन्न संघसंस्थाहरुले विज्ञप्ती मार्फत भत्र्सना गरेका छन् । मेयर चौधरीको अभिव्यक्तिले महिलाको अस्मिता, आत्मसम्मानमा प्रहार भएको भन्दै भत्र्सना गरेका छन् ।
धनगढी स्थित महिला मानव अधिकार रक्षक संजाल, गैर सरकारी संस्था महासंघ, महिला बिकास समाज, दलित महिला अधिकार मंच नेपाल, मानव अधिकारका लागि महिला एकल महिला समुह, नागरिक संवाद केन्द्र, सिविन नेपाल, ओरेक नेपाल, ईन्सेक, दलित महिला संघ, संघिय दलित सिल्पी मंच, कमैया प्रथा उन्मुलन समाज, नारी उत्थान मंच,महिला स्वास्थ्य स्वयमसेविका, क्रियाशिल महिला पत्रकार बुधबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै ईटहरीका मेयर चौधरीमाथि कार्वाहीको माग गरेका हुन् ।

‘लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि भएका आन्दोलनमा पुरुष सहकर्मीहरुसँग काँधमा काँध मिलाएर आन्दोलनमा होमिदै गर्दा नेपाली महिलाले निरंकुस सामन्ति पितृसत्तात्मक सोचमा पनि परिवर्तन आउने अपेक्षा गरेका थिए । तर लोकतान्त्रिक सासन व्यवस्थामा शासकहरुले समेत एकपछि अर्को गर्दै महिलाप्रति विभेद तथा हिंसा गर्ने कामलाई निरन्तरता दिइरहेका छन् ।’ विज्ञप्तिमा भनिएको छ ।
साथै विज्ञप्तीमा अभिव्यक्तिले ईटहरीका मेयर चौधरीले महिलाको आत्मसम्मान तथा स्वाभिमानमाथि प्रहार गरेको र उनले प्रयोग गरेको भाषा तथा शब्द कानुनी रुपमा समेत बर्जित शब्द रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा महिलाको आत्म सम्मान माथि आँच पुग्ने गरी सिके राउतले दिएको अभिव्यक्ति त्यसैगरी महिलालको चरित्र हत्या हुने गरी धनगढी उपमहानगरपालिका वडा नं.१८ का वडाध्यक्ष मुरारी अधिकारीले चरित्रहिन महिला हुन भनी गरिदिएको सिफारिस जस्ता अपमानजनक व्यवहार प्रति घोर भत्र्सना गरेको उल्लेख छ ।
मेयर चौधरीको अभिव्यक्तिले महिलाको आत्मसम्मान तथा स्वाभिमानमाथि प्रहार गरेकोले उनीमाथि अबिलम्ब बारबाही गर्नुपर्ने माग विज्ञप्तीमार्फत गरिएको छ । वंगलादेशमा एमबिबीएस पढ्दै गरेका छात्राहरुको विषयमा विवादास्पद अभिव्यक्ति दिएकै कारण कानुनमन्त्रीले आफ्नो पदबाट राजिनाममा दिएजस्तै मेयर चौधरीलाई पनि उनी संलग्न पार्टीले कार्वाही गर्नुपर्ने माग गरिएको छ ।













