वर्षासँगै सुदूरपश्चिममा रोपाइँको तयारी
कैलाली, ११ असार । लामो समयको खडेरीपछि पानी परेसँगै सुदूरपश्चिममा धान रोपाइ शुरु भएको छ। धानको बिउ राखेको लामो समयसम्म पनि पानी नपरेपछि निराश बनेका किसानले पानी परेपछि धान रोप्ने तयारी थालेका छन्।
पानी परेपछि अहिले किसानहरू खेतको काममा व्यस्त छन्। अहिले यहाँका किसानहरू खेत जोत्ने लगायतका कामका लागि मा किसानहरू अहिले खेतमै भेटिन्छन्।
‘हामी त यो वर्ष पानी पर्दै न की भन्ने चिन्तामा थियौँ। तर, खेत भिजाउने पानी पर्याे,’ धनगढी उपमहानगरपालिका–१ की सन्तोषी जोशीले भनिन्, ‘गहुँ भित्र्याएपछि पानीको थोपा नपाएको जमिनमा असारको दोस्रो सातादेखि झरी परेकाले रोपाइँ शुरु गरिएको हो ।’
उनीसँग बस्नलाई घरमात्र छ। तर,उनले पाँच कट्टा जमिन भाडामा लिएर विगत तीन वर्षदेखि धान खेती गर्दै आएकी छिन्।
‘पानी परेपछि खुसी भएका छौँ। पानी पर्नसाथ खेत जोताएँ। अहिले मेडी लगाउँदै छु,’ उनले भनिन्,‘धानको बिउ रोप्नलाई तयार भएको छ। अब असार १५ भित्र धान रोप्ने हो।’ उनी रोपाइँ गर्नका लागि पनि आकाशे पानीको भरमा बसेकी थिइन्।

धनगढी उपमहानगरपालिका–६ का भागिरथ चौधरीको एक बिघा जमिन छ। उनी पनि पानी पर्नासाथ खेततिर लागे। खेत जोत्न र मेडि लगाउने काममा उनी अहिले व्यस्त छन्।
‘खडेरीले खेत सुख्खा बनेको थियो । यो पानीले धेरै राहत पुर्यायो,’ उनले भने, ‘जमिन भिजेको छ। बिउ पनि रोप्ने बेला भएको छ। असार १५ सम्म धान रोप्ने हो।
त्यस्तै धनउपा–५ की सिन्धु खड्काले पनि खेत जोत्ने र मेडी लगाउने काम सकाएकी छिन्। ‘अहिलेको परेको पानीले जमिन भिजेको छ। अब धान रोप्ने ठूलो पानी परेपछि धानको बिउ रोप्न सजिलो हुन्थ्यो,’उनले भनिन्।
कैलालीका किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन्। चर्को घामले सुख्खा भएको जमिनमा पानी पर्दा किसान हर्षित भएका छन्। केही किसानले बोरिङको पानीबाट सिँचाइ गरी रोपाइ सुरु गरेका छन्।
सुदूरपश्चिममा आठ प्रतिशत रोपाइँ
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार सुदूरपश्चिममा असार ३ गतेसम्म ८ प्रतिशत अर्थात् १४ हजार ४ सय ९३ हेक्टरमा रोपाइँ भएको छ।
त्यसै गरी कैलालीमा ३ प्रतिशत, कञ्चनपुरमा ३ प्रतिशत, अछाममा १० प्रतिशत, बाजुरामा २० प्रतिशत, बझाङमा १५ प्रतिशत, बैतडीमा ३५ प्रतिशत, दार्चुलामा ३७ प्रतिशत, डडेल्धुरामा १० प्रतिशत र डोटीमा १२ प्रतिशत धान रोपाइ भएको मन्त्रायका सूचना अधिकारी डा. विश्वेश्वरप्रसाद खनालले बताए। उनका अनुसार सुदूरपश्चिममा १ लाख ८१ हजार ४ सय २४ हेक्टरमा धान खेती हुँदै आएको छ।













