कर्फ्युभित्रका मान्छेहरु

हात बाधेर
चुपचाप नबस
ए ! कर्फ्युभित्र जलेका बस्तीहरु
तिम्रो मौनतामा
फेरि कालो शासकले
श्वेत आतंक मच्चाउन सक्छ
र न्यायाधीशको बलले
तिमीहरूलाई आतंककारी भन्न सक्छ।

मुख छोपेर
चुपचाप नबस
ए ! कर्फ्युभित्रका मान्छेहरु
नकाबधारी जल्लाधरुको
यसपटक पर्दाफास गर्नुपर्छ
चटयाङ बनेर
तिनको मुखुण्डो च्यातेर
साबिती दिनुपर्छ कि
तिमी हत्यारा होइनौ ।

अश्रु झारेर
चुपचाप नबस
ए ! कर्फ्युभित्र बलात्कृत चेलीहरु
त्रसित मन बोकेर
दमन सहनु हुन्न अब
बरु बलात्कृत रगतले
अब ठेकान लगाउनु पर्छ
बर्दीवाल भातेहरुलाइ।

शोषण सहेर
चुपचाप नबस
ए ! आक्रोशित मनहरु
यसपटक
बहिरा शासकहरुलाई
बुलन्दित आवाजद्वारा पाखा लगाउनु पर्छ
सत्ताको राजनीति गर्नेहरुलाई
आन्दोलित हुन्कारद्वारा
पत्तासाफ गर्नुपर्छ
बन्दुकको शासन चलाउने
टाकुरे हुतिहाराहरुको
इन्द्रासन हुत्याउनु पर्छ
र यसपटक
वारेन्टका पुर्जीहरु
तिम्रो बस्तीहरुमा होइन
तिनकै छातीमा टास्नु पर्छ
कि मुक्ती या मृत्युको
कसम खाएर उठ
ए ! कर्फ्युभित्रका मान्छेहरु